Breaking News

आजदेखि संसद् अधिवेशन शुरु

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि निर्वाचित नयाँ संसदको पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली काँग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का २५, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।

सम्भावित कार्यसूची :
आजको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली ९पहिलो संशोधन० अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ९दोस्रो संशोधन० अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य÷सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउनेछन् ।

बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।