-रुषा थापा/ मुलुकमा वि.सं. १९९० र ०४५ सालमा ठूलो भूकम्प आएको थियो । ती भूकम्पबाट भौतिक क्षति पुग्यो । सर्वसाधारणको घर, मतान, गोठहरु भत्कायो । तर, मानवीय क्षति खासै भएन । ०७२ वैशाख १२ गते फेरि मुलुकमा महाभूकम्प आयो ।त्यस अघिको भूकम्पमा भौतिक क्षति पुगेपनि मानवीय क्षति नभएकोमा यो भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति पुग्यो ।
यसपछि पनि ०८० कात्तिक १७ गते भूकम्प गयो । यसमा पनि ठूलो मानवीय र भौतिक क्षति पुग्यो । अब प्रश्न उठ्छ–वि.सं. १९९० र ०४५ को महाभूकम्पमा खासै क्षति नपुग्दा ०७२ र ०८० को भूकम्पमा किन ठूलो क्षति भयो । कारण हो, घर ।
चार–पाँच दर्शकअघिसम्म मानिस बस्ने घर, खाद्यान्न राख्ने मतान र गाईवस्तु बस्ने गोठ हुन्थ्यो । यी ढुंगा, माटो र काठबाट बनाइएको थियो । छानोका रुपमा झिंगटी, खर, पराल, छलि, जस्तापाता राखिएको हुन्थ्यो । हरेकको घर, मतान र गोठ हुन्थ्यो । घरअगाडि आँगन हुन्थ्यो । अर्थात् खुल्ला ठाउँ हुन्थे ।
घर एक तलेमात्र हुने भएकाले ढलेपनि मानवीय क्षति खासै पुग्दैन्थ्यो । अर्कोतर्फ, घरअगाडि नै खुल्ला ठाउँ भएकोले भाग्न सजिलो हुन्थ्यो । घरको ढोकाबाहिर खाट राखिएको हुन्थ्यो । कोही आएमा थकाई मार्न । त्यतिखेर पानीको स्रोत थियो, ढुंगेधारा, कुँवा, तालतलैया, पोखरी, इनार, आल । यो गाउँले आफैंले मिलेर
बनाउँथे ।
पार्टीपौवा, चौतारी पनि आफैंले बनाइन्थ्यो । सार्वजनिक काम गर्न मानिसहरु रुचाउँथे । नचिनेको मानिसलाई पनि खाना खुवाइन्थ्यो । बास दिइन्थ्यो । तर, ०४६ सालपछि सिमेन्ट, सिसा, महँगा ढुंगाको प्रयोग गरेर घर बनाउने चलन शुरु भयो । अहिले देशभर यस्ता घर छन् । जुन बाहिरबाट आकर्षक देखिन्छ । यस्ता घर बनाउन जग्गा र लागत धेरै लाग्छ ।
तर, पहिला घरमा एक रुपैयाँ लगानी लाग्दैन्थ्यो । काठ, ढुंगा र माटोको जोहो गाउँघर वा वनजंगलबाटै हुन्थ्यो । घर बनाउँदा पर्मा गरिन्थ्यो । अर्थात् कसैको घर बनाउँदैछ भने गाउँभरिका मानिसले सहयोग गरिदिन्थे । र, उनीहरुको पनि घर बनाउँदा सहयोग गरिन्थ्यो । अहिले त घर बनाउन ज्यालामा कामदार खटाइन्छ । अहिले एउटा घर बनाउनु परेमा करोडौं लाग्छ ।
तर, भूकम्प आउँदा यही घरले थिचेर धेरैको ज्यान गएको उदाहरण छन् । अर्कोमुख्य हो, आधुनिक घर बनाउने चलनको शुरुवातसँगै खेतीयोग्य जमिनको दोहन हुन थालेको छ । पहिले उब्जजी नहुने जमिनमा घर बनाइन्थ्यो । अर्थात् डाँडाकाँडामा घर हुन्थ्यो । किनकि यस्ता ठाउँमा उब्जनी हुदैँन्थ्यो । अहिले त समतल ठाउँमा घर बनाइन्छ ।
यसले खेतीयोग्य जमिन मासिरहेको छ । जसको प्रभाव हाम्रो कृषिमा देखिन थालिसक्यो । नेपाल विश्वसामु कृषिप्रधान मुलुकका रुपमा चिनिएको देश हो । ०४५ सालसम्म नेपालले विभिन्न मुलुकमा खाद्यान्न बेच्थ्यो वा अनुदानमा दिन्थ्यो । त्यतिबेला काठमाडौं उपत्यकासहित हरेक ठाउँमा खेतपाती गरेरै जीविकोपार्जन चलाइन्थ्यो । एउटै व्यक्तिको दशदेखि सयौं रोपनी जग्गाजमिन हुन्थ्यो ।
प्रत्येकको घरमा धान, कोदो, मकै, गहुँको भकारी हुन्थ्यो । खाद्यान्न किन्ने चलन थिएन । तरकारी आफ्नै बारीमा हुन्थ्यो । त्यतिबेला किन्ने भनेको नुन र कपडामात्र थियो । त्यस्तै, हरेकको घरमा डोको, थुन्छे, घुम, हलो, जवा, कोदालो, कोदाली, हसिया, डेकी, जातो, ओखल, खरपनलगायत सामग्री हुन्थ्यो ।
तर, खेतीपाटी गर्ने परम्परा पलायन हुँदै गएसँगै यी सामग्री पनि देखिन थालेको छ । अहिलेका पुस्तालाई हसिया भनेकोसमेत थाहा छैन । अझ दुःख र लाजलाग्दो कुरा त के हो भने कृषिप्रधान मुलुकका हामी नागरिक विदेशबाट आयातित खाद्यान्न खाइरहेका छौं । विदेशीले खाद्यान्न नदिने हो भने हामी भोकभोकै मर्नुपर्ने अवस्था
छ ।
कसरी भयो त यस्तो ? अहिलेका मानिसहरुलाई कृषि गर्न लाज लाग्छ । नपढेको मानिसले मात्र कृषि गर्छ भन्ने सोचको विकास भएको छ । बरु लाखौं रकम खर्चिएर विदेश गई भाडा माझ्ने काम गरिन्छ । तर, आफ्नै देशमा आफ्नै गाउँमा खेतीपाती गर्न मानिसहरुलाई लाज लाग्छ । उनीहरुको बेइज्जत हुन्छ । फेरि विदेशी खाद्यान्नमा मासिक हजारौं रकम खर्च भइरहेको र आफू रोगी भइरहेको देख्दैनन् ।
सरकार र जनता दुवै अल्छी भए । अहिलेका जनता सुःखी जीवन चाहन्छन् । गाईवस्तु पाल्न चाहन्न । खेतबारीमा जान चाहन्न । अहिले त घर बनायो, भाडामा लगायो अनि बसिबसि खायो । तर, पहिले जीविकोपार्जनको एकमात्र उपाय थियो, खेतीपाती । खेतमा काम नगरे काम पाइन्थ्यो । अहिले त खेतबारी भनेकै युवापुस्तालाई थाहा छैन । दुध कहाँबाट आउँछ ? सोध्दा धेरैजसोको जवाफ हुन्छ–डेरीबाट ।
अनि के भन्ने । अभिभावकहरु पनि आफ्ना सन्ततिलाई विदेश पठाउन तयार हुन्छन् तर देशमै कृषि गरेर बस्न दिन मान्दैनन् । कृषि सबैतिरबाट हेलित पेशा बन्यो । यसैले, अब सरकारले कृषिलाई समाजको हेलाबाट निकाल्न केही कदम चाल्नु
पर्छ । मानिस भोक खप्न नसक्ने प्राणी हो । खानाबिना मानिस बाँच्न सक्दैन । विडम्बना, त्यही अन्न उब्जन आजकलका मानिसहरुलाई लाज लाग्छ ।
यदि यही क्रम जारी रहने हो भने केही वर्षपछि देशभरबाट कृषि विस्थापित हुनेछ । यसो भएमा मुलुकमा खाद्यान्नको ठूलो संकटमात्र होइन, खाद्यान्नकै कारण विदेशी हस्तक्षेपसमेत बढ्न सक्नेछ । यसतर्फ बालेन्द्र साह सरकार सचेत होस् । सर्व साधारणमा पनि चेतनाको विकास हुन जरुरी भइसक्यो । ऋण लिएर आधुनिक घर बनाउँदैमा, पढ्दैमा कोही ठूलो मान्छे हुँदैन ।
ठूलो मान्छे हुन धेरै बुझेको हुनुपर्छ । सहीलाई सही र गलतलाई गलत छुट्याउन सक्ने हुनुपर्छ । पहिलाका मानिसहरुले नपढेपनि धेरै बुझेका थिए । ऋण लिनुहुन्न, लहैलहैमा लाग्नुहुन्न, दुःख गर्नुपर्छ, चोर्नुहुन्न भन्ने चेतना उनीहरुमा थियो । तर, अहिले त काम नगर्ने चोर्ने वा ठगेर खाने चलन आयो । अनि अशिक्षित शिक्षित व्यक्तिहरु कि अशिक्षितहरु ? पढ्दैमा, राम्रा लुगा लगाउँदैमा ठूलो मान्छे होइन्छ भन्ने भ्रम अब चिर्नुपर्छ । साथै, मुलुकलाई फेरि कृषिप्रधानका रुपमा स्थापित गराउन लागौं ।

