Breaking News

सरकारले ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ सार्वजनिक

काठमाडौँ । सरकारले ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बैठकले स्वीकृत गरेको कार्यसूची प्रधानमन्त्री कार्यालयले शनिबार साँझ सार्वजनिक गरेको हो ।

मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्न भन्दै सरकारले सार्वजनिक गरेको उक्त कार्यसूचीमा पाँच दिनदेखि एक हजार दिनसम्मको अवधि तोकेर विभिन्न काम गर्ने उल्लेख गरेको छ ।

सरकारले वार्षिक रूपमा ल्याउने नीति तथा कार्यक्रमको झल्को दिने गरी आएको उक्त दस्ताबेजले आगामी केही महिनाभित्रै नेपाली राजनीति र प्रशासनको स्वरूप बदल्ने लक्ष्य  राखिएको छ ।

नतिजामा आधारित शासकीय प्रबन्ध

कार्यसूचीमा अबको शासन प्रणालीलाई ‘नतिजामा आधारित शासकीय प्रबन्ध’मा रूपान्तरण गर्ने घोषणा गरिएको छ ।

यस अन्तर्गत सबैभन्दा महत्त्वपूर्ण घोषणा ‘संविधान संशोधन’ को विषय बनेको छ । सरकारले ७ दिनभित्र ‘संविधान संशोधन बहस पत्र’ तयार पार्न कार्यदल गठन गर्ने र यसलाई तथ्यमा आधारित तथा सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तै, दलित र ऐतिहासिक रूपमा बहिष्कृत समुदायमा सुधारमुखी कार्यक्रम घोषणा गर्ने साहसिक कदम अघि सारेको छ ।

त्यस्तै, भदौ २३ र २४ को जेनजीआन्दोलनका क्रममा भएका घटनाहरूलाई सम्बोधन गर्न सरकारले विशेष प्याकेज गर्ने जनाएको छ ।

यस अन्तर्गत आन्दोलनमा घाइते भएका र ज्यान गुमाएका शहीदका परिवारका लागि १०० दिनभित्र एकीकृत न्याय र पुनः स्थापनाको कार्यक्रम ल्याइनेछ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही प्रक्रिया तत्काल अघि बढाउने र घाइतेहरूलाई सरकारी तथा निजी क्षेत्रमा रोजगारी र सीप विकासको अवसर दिने उल्लेख गरिएको छ ।

मन्त्रालयको सङ्ख्या १७ मा झारिने

सरकारले अहिले २२ वटा रहेको मन्त्रालय सङ्ख्या पाँच वटाले  घटाउने जनाएको छ । कार्यसूचीको ९ औँ बुँदामा अब सङ्घीय मन्त्रालयहरूको सङ्ख्या घटाएर १७ कायम उल्लेख गरिएको छ । यसका लागि ३० दिनभित्र कार्य विभाजन नियमावली संशोधन गरिने जनाइएको छ ।

त्यस्तै अनावश्यक वित्तीय भार कटौती गर्न बोर्ड, समिति र आयोजनाहरूको पुनर्संरचना वा खारेजीका लागि उच्चस्तरीय कार्यदल बनाउने र यसले एक महिनाभित्र प्रतिवेदन दिने उल्लेख गरिएको छ । सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले निजामती कर्मचारी, शिक्षक र प्राध्यापकहरूलाई कुनै पनि दलको आबद्धताबाट मुक्त गर्ने र दलीय ट्रेड युनियन खारेज गर्ने घोषणा गरेको छ ।

डिजिटल सरकारी सेवा

सरकारको अर्को मुख्य ध्यान ‘डिजिटल गभर्नेन्स’ मा देखिएको छ । नागरिकले अब सरकारी कामका लागि कार्यालय धाइरहनुपर्ने झन्झट अन्त्य गर्न फेसलेस र पेपरलेस सेवाको अवधारणा ल्याइएको छ । यसअन्तर्गत राहदानी, नागरिकताको प्रतिलिपि र लाइसेन्सजस्ता कागजातहरू कुरियरमार्फत १०० दिनभित्र घरमै पुर्‍याउने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ ।

त्यस्तै एउटा विवरण एक पटक मात्र बुझाउने सिद्धान्तका आधारमा सबै सरकारी डेटा एकीकृत गरिने जनाइएको छ । नागरिकले मोबाइल एपबाटै आफ्ना प्रमाणपत्रहरू डाउनलोड गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

सरकारी कार्यालयमा उपस्थित हुनुपर्ने अवस्थामा पनि भिडभाड कम गर्न अनलाइनबाटै समय लिने व्यवस्था ३ महिनाभित्र सुरु गरिने जनाइएको छ ।

भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिन

सुशासनको क्षेत्रमा सरकारले कडा नीति अख्तियार गरेको छ । २०४८ सालदेखि हालसम्म सार्वजनिक पद धारणा गरेका उच्चपदस्थ राजनीतिक पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र एक अधिकार सम्पन्न समिति गठन गरिने भएको छ ।

भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय कार्य योजना १५ दिनभित्र जारी गरिनेछ भने सट्टेबाजी एपहरू २४ घण्टाभित्र बन्द गरिने कडा निर्देशन दिइएको छ ।

बैङ्किङ क्षेत्रमा हुने शङ्कास्पद कारोबार पत्ता लगाउन रिस्क बेस्ड रेड फ्ल्याग प्रणाली १०० दिनभित्र लागू गरिनेछ, जसले अवैध धनको ओसारपसारमा नियन्त्रण गर्नेछ ।

आर्थिक सुधार र लगानी प्रवर्द्धन

अर्थतन्त्रलाई चलायमान बनाउन भन्दै सरकारले स्टार्टअप फास्ट ट्र्याक प्रणाली लागू गर्ने भएको छ, जसले २ दिनभित्रै व्यवसाय दर्ताको अनुमति दिनेछ । विदेशी लगानीकर्ताका लागि एक महिनाभित्र वान डोर एप्रुभल सिस्टम स्थापना गरिनेछ ।

राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा हुने ढिलासुस्ती अन्त्य गर्न फास्ट ट्र्याक मेकानिजम तयार पारिनेछ । ठुला पूर्वाधार आयोजनाहरूको अनुगमन सिधै प्रधानमन्त्री कार्यालयबाट ‘पीएम डेलिभरी युनिट’ मार्फत गरिने व्यवस्था गरिएको छ ।

स्वास्थ्य र शिक्षामा आमूल सुधारको लक्ष्य

स्वास्थ्य क्षेत्रमा विपन्न नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले फ्री हेल्थ पोर्टल विकास गर्नेछ । सबै सरकारी अस्पतालका कुल शैय्यामध्ये कम्तीमा १० प्रतिशत शैय्या निःशुल्क उपलब्ध गराउनुपर्ने नियमलाई कडाइका साथ लागू गर्ने जनाइएको छ ।

शिक्षातर्फ, विद्यालय र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरिनेछ । कक्षा ५ सम्मका विद्यार्थीहरूको आन्तरिक परीक्षा लिने झन्झटिलो व्यवस्था हटाएर मनोवैज्ञानिक मूल्याङ्कन प्रणाली अपनाइनेछ ।

विद्यार्थीहरूलाई स्नातक तहसम्म अध्ययन गर्न नागरिकता अनिवार्य नगरिने गरी लचिलो व्यवस्था गरिनेछ ।

ऊर्जा, कृषि र पर्यटन

ऊर्जा क्षेत्रमा विद्युत् निर्यात रणनीति १ महिनाभित्र तयार गरिनेछ र १८० दिनभित्र विद्युत् खरिद सम्झौता सम्बन्धी निर्णय लिइने उल्लेख छ ।

कृषितर्फ, किसानको उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनेछ र एक पालिका एक शीत भण्डार कार्यक्रम सुरु गरिनेछ । कृषि उपज खरिदमा उधारो कारोबार गर्ने प्रवृत्ति अन्त्य गरी २५ दिनभित्र अनिवार्य भुक्तानीको व्यवस्था गरिनेछ ।

पर्यटन प्रवर्द्धनका लागि नेपाल वेलनेस इयर २०२७ मनाउने र नेपाललाई योग, ध्यान र प्राकृतिक चिकित्साको हब बनाउने लक्ष्य राखिएको छ ।

सामाजिक सुरक्षा र महिला सशक्तीकरण

महिलाहरूको सुरक्षित आवतजावतका लागि सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गरिने भएको छ । पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा यस्ता बस सञ्चालनमा ल्याइनेछ ।

सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोक्न सबै सवारी साधनमा सिसिटिभी र एसओएस बटन अनिवार्य गरिने जनाइएको छ ।

भूमिहीन र सुकुम्वासी समस्या समाधान गर्न १००० दिनको विशेष कार्य योजना ल्याइएको छ, जसअन्तर्गत डिजिटल लगत सङ्कलन र एकीकृत आवासको व्यवस्था गर्ने कार्यसूचीमा उल्लेख छ ।