भदौ २३ र २४ गतेको घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र क्याम्पसका विद्यार्थीले माग गरेका छन् । आज बिहान बिद्यार्थीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका छन् ।
त्रिचन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको प्रदर्शनमा “जेन जी आन्दोलनको सत्यता जान्ने हाम्रो अधिकार, कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर” भन्ने नारा लगाइएको छ । युनियनका अध्यक्ष गोविन्द कोइरालाको नेतृत्वमा भएको कार्यक्रममा मनोज भण्डारीलगायतले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएका हुन् ।
उनीहरुले “विद्यार्थी मार्नेलाई कारबाही, सिंहदरबार जलाउनेलाई दण्ड, परिवारलाई न्याय”, “प्रधानमन्त्रीज्यू, हाम्रा विद्यार्थीलाई कसले गोली चलायो ? रिपोर्ट सार्वजनिक गरियोस्’, “सत्य लुक्दैन, रिपोर्ट किन खुल्दैन ?”, “रगतले लतपतिएको प्रतिवेदन खोई ?” नारा लगाएका हुन् । विद्यार्थीहरूले घटनाको सत्यतथ्य सार्वजनिक नगरेसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

