प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म रास्वपा १२२ सिटमा जित हासिल र ३३ सिटमा अग्रता लिइरहेको छ । त्यस्तै काँग्रेसले १७ सिट जितेको छ । एमालेले ७ सिट जितेको छ भने ३ सिटमा अग्रता लिइरहेको छ । नेकपाले ७ सिट जितेको छ भने १ सिटमा अग्रता लिइरहेको छ । श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ । राप्रपाले १ सिट जितेकोक छ भने स्वतन्त्रमा म्याग्दीबाट महाबिर पुनले जितेका छन् । यस हिसावले प्रत्यक्षमा १६५ सिटमा १५८ सिटको नतिजा आइसकेको छ भने ७ सिटको मतगणना भइरहेको छ यो आज रातीसम्म आइसक्ने छ । प्रत्यक्षको मतगणनासँगै समानुपातिक तर्फको मत गणना पनि लगभग आधा भइसकेको छ । हालसम्मकोे नतिजा अनुुसार समानुपातिकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै ५० प्रतिशत मत प्राप्त गरेको छ।
प्रतिनिधि सभा निर्वाचनमा ११० सिटका लागि मतदाताले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलका लागि मत दिएका थिए।
हालसम्म ५२ लाख मतगणना सम्पन्न भएको छ। मतदानमा १ करोड ९ लाख मत खसेको थियो।
जारी मतगणना अनुसार रास्वपाले ४९ दशमलव १३ प्रतिशत मत प्राप्त गरेको छ।
नेपाली कांग्रेसले १६ दशमलव ६१ प्रतिशत, नेकपा एमालेले १४ दशमलव २९ प्रतिशत, नेपाली कम्युनिष्ट पार्टीले ६ दशमलव ७९ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ दशमलव ५५ प्रतिशत मत प्राप्त गरेका छन्।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ दशमलव ६० प्रतिशत र जसपा नेपालले १ दशमलव २३ प्रतिशत मत ल्याएको छ।
प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत कटाउने दलले सिटमा भाग पाउँछन्। जारी मतगणनाअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपाले मात्र ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउने देखिएको छ।
मतगणना अहिलेकै अनुपातमा अघि बढे रास्वपाले समानुपातिकतर्फ ६० सिट प्राप्त गर्नेछ। त्यस्तै नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १७ सिट, नेकपाले ८ सिट र राप्रपाले ५ सिट जित्नेछ।
यदि समानुपातिकतर्फ अहिलेकै अनुपातमा रास्वपाले मत कायम राखे उसले दुई तिहाइ सिट प्राप्त गर्न सक्नेछ।
यदि मतगणना भइरहेका सिटमा समेत रास्वपा विजयी भए उसले प्रत्यक्षतर्फ १ सय २५ सिट प्राप्त गर्नेछ। समानुपातिक तर्फको ६० सिट जोड्दा रास्वपा १ सय ८५ सिटमा विजयी हुन्छ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमत प्राप्त गर्न १ सय ८४ सिटमा जित हात पार्नुपर्छ। रास्वपाले अहिलेकै अनुपातमा मत प्राप्त गर्ने हो भने उसले दुई तिहाइ सिटमा जित हात पार्न सक्ने देखिन्छ।

