१२ फागुन, काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आम सर्वसाधारणका लागि मंगलबारदेखि प्राथमिक सेयर (आईपीओ) खुलाएको छ ।
यसअघि कम्पनीले प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट गरिसकेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको ७५ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये म्युचुअल फन्ड, आयोजना प्रभावित स्थानीय, कर्मचारी तथा वैदेशिक रोजगारमा रहेकालाई निष्कासन गरेपछि बाँकी रहेको ४५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन हुन लागेको छ ।
यो सेयरमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
हाल बजारमा ४ सिमेन्ट कम्पनी सूचीकृत छन् । सर्वोत्तम, शिवम्, घोराही र सोनापुर सिमेन्ट बजारमा सूचीकृत छन् । अंकित मूल्य १ सयमा प्राथमिक सेयर जारी गर्ने यो एक मात्रै सिमेन्ट कम्पनी हो ।

