Breaking News

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाहले चुनावी बाचापत्र सार्वजनिक

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका दाबेदार शाहले अघि सारेको बाचा पत्रमा मुख्य गरी सङ्घीय संसद्‌मा कानुन निर्माणदेखि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनसम्मका एजेन्डाहरू समेटिएका छन्।

बाचापत्रमा नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका मौलिक हकहरूको व्यावहारिक कार्यान्वयन गर्ने भनिएको छ। संविधानले ग्यारेन्टी गरेका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकतालाई नागरिकको घरदैलोसम्म पुऱ्याउन आवश्यक कानुन निर्माण र बजेट व्यवस्थापनलाई यसमा उच्च प्राथमिकता दिइएको छ। भ्रष्टाचार र बेथिति विरुद्ध संसद्को अग्रपङ्क्तिमा उभिएर खबरदारी गर्ने अठोट व्यक्त गरिएको छ।

‘नेपालको संविधान-२०७२ को परिपालना गर्दै संविधानले निर्दिष्ट गरेका दायित्वहरू निष्ठापूर्वक सम्पन्न गर्न तथा हाल कार्यान्वयनमा रहेका कार्यहरुलाई कानुनी रुपमा सहज, स्पष्ट साथै नागरिक मैत्री बनाउन आवश्यक कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि संघीय संसदमा सक्रिय तथा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु,’ बाचापत्रमा भनिएको छ ।

Laxmi sunrise bank

उनले बाचापत्रमा लेखेका छन् ‘राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन । सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।  विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिनेछु ।’

Shivam Cement

शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यका साथ यस पत्रमा काठमाडौँ महानगरपालिकामा सफल सावित भएको ‘शिक्षामा सीप’ कार्यक्रमलाई झापामा पनि लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसले विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै आत्मनिर्भर बनाउन र वैदेशिक रोजगारीको बाध्यतालाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। यस्तै, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालयको स्थापना गर्दै ‘स्कुल रिटेन्सन प्रोग्राम’ मार्फत विद्यालय छाड्ने दरलाई शून्यमा झार्ने योजना निकै आकर्षक देखिन्छ।

Nabil bank

स्थानीय स्तरका भौतिक पूर्वाधार र सम्पदाको संरक्षणमा पनि उत्तिकै ध्यान दिइएको छ। गौरीगञ्जको ऐतिहासिक त्रिभुवन पुस्तकालयलाई डिजिटल अनुसन्धान केन्द्र बनाउने, कमलमा कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने र दमकको बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने जस्ता बुँदाहरूले स्थानीय आवश्यकतालाई गहिरो गरी सम्बोधन गरेका छन्। दमक-१० मा रहेको साइन्स पार्कलाई थप व्यवस्थित बनाउने योजनाले यस क्षेत्रलाई शैक्षिक हबको रूपमा विकास गर्ने संकेत गर्दछ।

Arghakhachi Cement

बाचा पत्रमा झापा-५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ। यसले सांसद र नागरिकबिचको दूरी कम गर्ने र स्थानीय गुनासाहरूलाई सिधै सदनसम्म पुऱ्याउने पुलको काम गर्नेछ।