Breaking News

एपोलो हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन

एपोलो हाइड्रोपावर लिमिटेडले आज (सोमबार)देखि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ५७ करोड रूपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रूपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्ये ४ करोड ७० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयर उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिनेछ भने ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूका लागि बाँडफाँट गरिनेछ।

त्यस्तै, बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९ लाख ४० हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका ९४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ।

स्थानीय बासिन्दाहरूले अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेको नेपालीहरूले अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत १० गते हुनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते हुनेछ।