काठमाडौं । जय मातृभूमि पार्टीले आसन्न निर्वाचनलाई लक्षित गर्दै २५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन तथा चुनाव प्रचार–प्रसार मूल समिति गठन गरेको छ। पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीको अध्यक्षतामा गठित उक्त समितिमा केन्द्रीय कार्य सम्पादन समिति, केन्द्रीय समिति, विभिन्न विभागका सदस्य तथा सल्लाहकार र शुभेच्छुकहरुलाई समेटिएको छ।
पार्टीको केन्द्रीय कार्यालय ‘आमा घर’ मा अध्यक्ष कार्कीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन रणनीति, प्रचार–प्रसार र संगठनात्मक परिचालनका विषयमा गम्भीर छलफल गरेको हो। बैठकको शुभारम्भ गर्दै अध्यक्ष कार्कीले निर्वाचनमा उम्मेदवार बन्ने सबैलाई शुभकामना व्यक्त गर्दै पार्टीले अघि सारेका देशभक्ति र राष्ट्र निर्माणका एजेन्डा जनतामाझ निर्भीकताका साथ लैजान निर्देशन दिए।
बैठकमा महासचिव गोविन्द गिरीले प्रस्तुत गरेका एजेन्डामाथि व्यापक छलफल भएको थियो। पार्टीका सह–अध्यक्ष रामशरण पाण्डे र वरिष्ठ नेता क्या.के.वि. लिम्बुले जय मातृभूमि पार्टीका एजेन्डा पुरातनवादी दलहरुका भन्दा फरक र स्पष्ट राष्ट्र निर्माणको दृष्टिकोणसहितका रहेको भन्दै ती एजेन्डा प्रभावकारी रुपमा जनतासम्म पुर्याउन सके उम्मेदवारको विजय सुनिश्चित हुने धारणा व्यक्त गरे।
वरिष्ठ उपाध्यक्ष रोमलाल गिरी तथा उपाध्यक्षहरु टुलराज बस्याल र आर.के. ढकालले पार्टी गतिविधिको समीक्षा गर्दै प्रचार–प्रसारलाई अझ तीव्र बनाउनु पर्ने सुझाव राखे। बैठकमा उप–महासचिव लक्ष्मीदत्त भट्ट र कृष्णराज राई, सचिव तेजेन्द्र प्रशाई र तोप गुरुङ, कोषाध्यक्ष आनन्द सिंखडा, प्रवक्ता डा. खेम बहादुर क्षेत्री लगायत सहभागीहरुले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।
बैठकले पाँच सूत्रीय एजेन्डा पारित गर्नुका साथै केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गरेको छ। साथै आर्थिक संकलन र लेभी व्यवस्थापन सम्बन्धी निर्णय गर्दै उम्मेदवारहरुलाई विजयी गराउन सबै क्षेत्रमा केन्द्रीय प्रतिनिधि तोक्ने निर्णय गरिएको छ।
जय मातृभूमि पार्टीले पूर्वदेखि सुदूरपश्चिमसम्म प्रत्यक्ष उम्मेदवारी दिएको जनाएको छ। राष्ट्रियता, नागरिकतन्त्र, सुशासन, समृद्धि र नेपालवाद पार्टीका मूल मार्गनिर्देशक सिद्धान्त रहेका छन्। पार्टीमा विभिन्न क्षेत्रका विज्ञ, राजनीतिककर्मी, पूर्व सुरक्षाकर्मी, पूर्व उच्च कर्मचारी, सुशासन अभियन्ता तथा जेन–जी आन्दोलनमा सक्रिय युवाहरुको सहभागिता रहेको छ।
जय मातृभूमि पार्टीको चुनाव चिन्ह बच्चा काखमा लिएको आमा रहेको छ।

