Breaking News

चुनावी भ्रम बन्द गर, जनतालाई जवाफ दे: जेनजी– प्रवक्ता अविन लिम्बु

काठमाडौँ  / जेनजी २.० ले आगामी निर्वाचनलाई केन्द्रित गर्दै मत माग्न आउने उम्मेदवारहरूलाई अब नारा र आश्वासन होइन, स्पष्ट जवाफ दिनुपर्ने चेतावनी दिएको छ। जेनजी २.० का प्रवक्ता अविन लिम्बुले जारी गरेको धारणा अनुसार जनतालाई फेरि झुक्याउने पुरानो राजनीतिक शैली अब स्वीकार्य नहुने स्पष्ट पारिएको छ।
प्रवक्ता लिम्बुले भने, “आम नेपाली अब मौन दर्शक होइनन्। मत माग्न आउने प्रत्येक उम्मेदवारले आफ्नो योजना, सम्पत्ति र विगतको जवाफदेही खुलेर जनतासामु राख्नुपर्छ। जवाफ दिन नसक्ने उम्मेदवार मतका हकदार हुँदैनन्।”
जेनजी २.० ले उम्मेदवारहरूसँग पहिलो १०० दिनको कार्ययोजना, सम्पत्ति र आम्दानीको सार्वजनिक विवरण, आफ्नै पार्टीभित्रको भ्रष्टाचारप्रति अडान, बेरोजगार युवाका लागि ठोस योजना, शिक्षा र स्वास्थ्यप्रतिको स्पष्ट नीति तथा विगतका अधुरा प्रतिबद्धताबारे सार्वजनिक उत्तर माग गरेको छ। त्यसैगरी, चुनावपछि पनि जनतासँग नियमित सार्वजनिक जवाफदेही कार्यक्रम गर्न र नागरिकको निगरानी स्वीकार गर्न उम्मेदवार तयार हुनुपर्ने जेनजी २.० को अडान छ।
चुनावको वातावरणबारे बोल्दै प्रवक्ता लिम्बुले हिंसा, धम्की, पैसाको दुरुपयोग र राज्य संयन्त्रको दमन तत्काल रोक्न सम्बन्धित निकायलाई कडा चेतावनी दिएका छन्। “चुनाव शान्तिपूर्ण, निष्पक्ष र डररहित हुनुपर्छ। कुनै पनि बहानामा दमन स्वीकार हुँदैन,” उनले स्पष्ट पारे।
जेनजी २.० ले युवासँग जोडिएका मुद्दाहरू घोषणापत्रमा सीमित नराखी, चुनावअघि नै लिखित सार्वजनिक प्रतिबद्धता गर्न माग गरेको छ। रोजगारी, शिक्षा सुधार, भ्रष्टाचार अन्त्य र प्रत्यक्ष जवाफदेही शासन प्रणालीबारे स्पष्ट कार्ययोजना नआए आन्दोलनको बाटो रोजिने चेतावनीसमेत दिइएको छ।
“यो चुनाव सामान्य प्रक्रिया होइन। यो पुरानो असफल राजनीतिलाई चुनौती दिने जनताको अवसर हो,” प्रवक्ता लिम्बुले भने, “यदि जनताको माग बेवास्ता गरियो भने जेनजी २.० संविधानभित्र रहेर सडकदेखि सदनसम्म लोकतान्त्रिक दबाब सिर्जना गर्न पछि हट्ने छैन।”
समाचारमा जेनजी २.० ले अब जनता प्रश्न गर्ने, हिसाब लिने र आवश्यकता परे सत्ता नै हल्लाउने चेतावनी दिएको उल्लेख गरिएको छ।