४ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवारले मनोनयन दर्ता पर्सी माघ ६ गते मंगलर हुँदैछ । मनोनयन गर्दा १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । तर, महिला, दलित, अल्पसंख्यक र विपन्नले धरौटी रकमा ५० प्रतिशत छुट पाउनेछन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ धरौटी राख्नुपर्छ । यसका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्छ ।
उम्मेदवारी दर्ताको लागि २ माघमा सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना भइसकेका छन् । जहाँ गएर उम्मेदवारले मनोनयन पत्र दर्ता गर्न सक्नेछन् ।
उम्मेदवारी दर्ता गर्दा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।
आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पेस गर्नुपर्छ ।
दुई दिन अगाडि सूचना निकालेर आयोगले के कस्ता विषय मनोनयन पत्रका साथ पेस गर्नुपर्छ भनेर जानकारी दिएको हो ।

