Breaking News

औठी लुटेर ८३ बर्षीय वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला

ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।

सोमबार ललितपुर महानगरपालिका-१७ बाफलस्थित खाली जग्गामा रहेको इनारभित्र शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।

मृतक इलाम घर भई प्रसिद्धिनगर बाफल बस्ने ८३ वर्षीय गर्जमान थापा छन्।

उनी पुस २६ गते बिहान ११ बजे घरबाट निस्किएका थिए। घरमा बेलुकी अबेरसम्म पनि नफर्किएपछि परिवारले प्रहरी वृत्त सातदोबाटोमा साँझ ७ बजेतिर हराएको निवेदन दिएको थियो।

खोजी गर्नेक्रममा प्रहरीले इनारमा पनि हेरेको थियो। त्यहाँ बोरा भेटिएको थियो। बोराभित्र हात-खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको एसपी जोशीले बताए। मृतकको घाँटीमा चोट समेत देखिएको छ।

प्रहरीले घटनामा संलग्न तीन जना भारतीय नागरिकलाई पक्राउ समेत गरेको छ।

सद्दाम मन्सुरी, युसुफ हवारी र मोहम्मद लोमान पक्राउ परेका हुन्।

उनीहरूले सुनको औंठीका लागि हत्या गरेको प्रहरीले बताएको छ।

‘औंठी लुट्नका लागि हत्या गरेको देखिन्छ। गर्जमान त्यहाँ नजिकै भएकाले आइरहने रहेछन्। पक्राउ परेका व्यक्तिहरू फर्निचरको काम गर्थे,’ एसपी जोशीले भने, ‘हामीले लुटिएको औंठी पनि बरामद गरेका छौं।’