Breaking News

रवि, बालेन, कुलमान र सुदनबीच लागि ४०–२५–२५ र १० को भागबन्डा वार्तालाप अझै जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी एकताका लागि ६०/४० को भागबन्डा प्रस्ताव गरेको छ । बिहीबार राति अबेरसम्म ललितपुरको ज्वागलमा बसेको बैठकमा रास्वपाले एकताका लागि त्रिपक्षीय भागबन्डा प्रस्ताव गरेको हो ।

स्रोतका अनुसार रास्वपाले केन्द्रीय समिति र आगामी निर्वाचनमा ४० प्रतिशत राख्ने, कुलमान र बालेन शाहलाई २५/२५ प्रतिशत दिने, बाँकी १० प्रतिशत जेनजीहरूलाई दिने प्रस्ताव गरेको पाइएको छ ।

भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अगाडि सार्न रास्वपाका सभापति रवि लामिछाने सकारात्मक देखिएका छन् । पदाधिकारीको विषयमा टुङ्गो लाग्न बाँकी रहेको स्रोतले बतायो ।

‘रास्वपाको तर्फबाट ४०, २५/२५ र १० प्रतिशतको भागबन्डा गर्न सकिने गरी प्रस्ताव गरिएको छ । भावी प्रधानमन्त्री बनाउने विषयमा रविजी सकारात्मक हुनुहुन्छ । पदाधिकारी पछि टुङ्गो लगाउने भनिएको छ, तर बालेनजीले मानिरहनुभएको छैन । कुलमानजीको विषयमा हिजो राति १० बजे नै टुङ्गो लागिसकेको छ’, स्रोतले भन्यो ।

एकता सहमतिमा ‘फाइनल टच’ दिनका लागि अहिले रास्वपाका राजनीतिक संवाद समितिका सहसंयोजक शिशिर खनाल र बालेनको तर्फबाट कुमार बेनले गृहकार्य गरिहेको छन् । तर उनीहरू बसेको ठाउँ दुवै पक्षले गोप्य राखेका छन् ।
तीनै पक्षबिच निर्णायक सहमतिका लागि आज बेलुका बैठक बस्ने बुझिएको छ । रवि, बालेन र कुलमानबिचको बैठकमा सहमति भएमा आजै हस्ताक्षर हुने स्रोतको दाबी छ ।

तर बालेन पक्षले शक्ति सन्तुलनको आधारमा मात्रै सहमति हुन सक्ने बताएको छ । रास्वपाले राखेको प्रस्तावलाई सकारात्मक रूपमा लिए पनि ठुलो पार्टी हुँदा शक्ति सन्तुलन कसरी कामय राख्ने भन्नेमा ठोस प्रस्ताव नआएको जिकिर गरेको छ ।

‘रास्वपाले प्रधानमन्त्री प्रस्ताव गरेको हो । त्यसपछि पार्टी नै एक हुने हो भने पावर ब्यालेन्सको कुरा भइहाल्छ । त्यसमा छलफल भइरहेको छ,’ बालेन निकट एक स्रोतले भन्यो, ‘बेलुकासम्म निचोड आउँछ । अहिले दुवै पक्षको दोस्रो तहका साथीहरू काम गरिरहनुभएको छ । आज काठमाडौँ महानगरपालिकाको नगरसभा पनि भएकाले नगरसभा सक्ने बित्तिकै बैठक बस्छौँ ।’

यता कुलमानले भने रविसँग कुनै कुरा नभएको जिकिर गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उज्यालो नेपालका संरक्षकसमेत रहेका उनले एकताको विषयमा कुरै नभएको जिकिर गरे । ‘रविजी र बालेनबिच के भयो, थाहा छैन, तर मसँग कुनै कुरा भएको छैन’, उनले भने ।