काठमाडौँ । जेनजी अगुवा तनुजा पाण्डेले आन्दोलनको मर्म सुनिश्चित गर्न तथा सहिदहरूको न्यायका लागि भदौ २३ का हत्याराहरू र भदौ २४ का विध्वंसकारीहरू दुवैलाई कानुनी प्रक्रियामा ल्याएर सजाय दिनुपर्ने बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन– यदि नेपालले सहिदहरूलाई न्याय दिन सक्दैन, हिंसामा र विध्वंसमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याउन सक्दैन भने यो देश अन्यायलाई र दण्डहीनतालाई संरक्षण गर्न असफल राष्ट्रका रूपमा मात्र इतिहासमा सम्झिनेछ।ु
उनले विषयको सुरुवात गर्दै लेखेकी छिन्– आज प्राज्ञ रवि लक्ष्मी चित्रकार म्याडम को तस्बिर देखेपछि, मौन बस्न सकिनँ। भदौ २३ मा तत्कालीन राज्यसत्ताले आफ्नै नागरिकलाई निर्दयतापूर्वक हत्या गर्यो। त्यो दिन सम्पूर्ण नेपाल शोकमा डुबेको थियो। यस्तो नरसंहार पछि एक मानवको रूपमा कोही क्रोधित हुनु, भावुक हुनु, पीडित हुनु, त्यो त स्वाभाविक मानवीय प्रतिक्रिया हो। भदौ २४ मा सडकमा निस्किएको जुलुस पनि यही पीडाबाट जन्मिएको थियो, साथीहरूको हत्याविरुद्ध उठेको स्वाभाविक आक्रोश, न्यायको माग, र राज्यप्रतिको गहिरो असन्तोष।
उनले थप भनेकी छिन्– त्यो दिन सडकमा उत्रिएको आम जनताको आक्रोश निहत्था थियो। न त्यहाँ हातहतियार थिए, न कुनै पूर्वतयारी, न कुनै रणनीतिक योजना। यति ठुलो विध्वंस आम जनताको स्वाभाविक आन्दोलनबाट सम्भव थिएन।किनभने आन्दोलनको नाममा त्यसपछि जे भयो, त्यो देशभर एकै समयमा, एकै शैलीमा, सुनियोजित र सङ्गठित अपराधजस्तै देखिने ती घटनाहरू जेनजीले गर्ने कुरा नै थिएनन् ।

