काठमाडौँ । नेपालकै ठूला वाणिज्य बैंकहरूमध्ये एक मानिने एनआइसी एशिया बैंक पछिल्लो केही वर्षदेखि निरन्तर नियामक निकायको अनुसन्धानको घेरामा पर्दै आएको छ । पुँजीकोष, कर्जा व्यवस्थापन, संस्थागत सुशासन र नियामकीय निर्देशन पालना नगरेको आरोप खेप्दै आएको बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले अन्ततः पदबाट राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष कारबाहीपछि आएको यो राजीनामालाई ढिलो भए पनि अपरिहार्य कदमका रूपमा हेरिएको छ ।
राष्ट्र बैंकले एनआइसी एशिया बैंकले पटक–पटक निर्देशन अवज्ञा गरेको निष्कर्ष निकाल्दै अध्यक्ष अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेलाई जनही दुई–दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।
राष्ट्र बैंक ऐनअनुसार यस्तो जरिवाना लागेपछि सम्बन्धित पदाधिकारी पदबाट स्वतः निलम्बन हुने व्यवस्था छ । यही कारबाहीको पत्र बैंकले पुस ४ गते प्राप्त गरेपछि अध्यक्ष अग्रवालले राजीनामा दिएका हुन् ।
अग्रवालको राजीनामा बैंकको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । यसअघि नै कारबाहीको डरले तत्कालीन सिइओ न्यौपाने बैंकबाट बाहिरिसकेका थिए। यसरी अध्यक्ष र सीईओ दुवै पदबाट बाहिरिनुले बैंकको शीर्ष नेतृत्व तह नै संकटमा परेको बुझिन्छ । अहिले बैंकको सीईओ भने सुजित शाक्य छन् ।
राष्ट्र बैंकको कारबाहीपछि बैंकभित्र नेतृत्व तहमा तनाव बढेको कर्मचारीहरूले बताएका छन् । यस घटनाले बैंकको नेतृत्व संरचना र नियामक निकायसँगको सम्बन्धलाई पनि थप चर्चामा ल्याएको छ । बैंक स्रोतका अनुसार अब नयाँ अध्यक्ष नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारी सुरु भइसकेको छ ।

