५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन् । काठमाडौंमा आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको जिकिर गरे । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उनले आशंका जनाए ।
‘यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ । हामीले बन्दुक पनि बोक्यौं, जेल पनि गयौँ, किताव पनि पढ्यौँ । अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौँ, काम गर्छौँ । यदी नेपालका किसान, मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमिहरु एक चोटी गरेर देखाउ न भनेर तपाईंहरूले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरू जस्तो जोतिएर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ, यो हामी गर्छौं,’ विप्लवले भने ।
सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्नेकुरा कसैले नपत्याएको समेत उनको भनाइ छ । प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनको लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्दै उनले निर्वाचन हुनेमा शंका व्यक्त गरे ।

