Breaking News

अध्यक्षमा उम्मेदवारी घोषणासँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै दस्तावेज पार्टीमा दर्ज

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार छुट्टै दस्तावेज पार्टीमा दर्ज गरेका छन्।

मंसिर २७ बाट सुरू हुने ११औं महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा आफूहरूले उठाएका कुरा पनि समेट्न आग्रह गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले च्यासल पुगेर महासचिव शंकर पोखरेललाई दस्तावेज बुझाएका हुन्।

वरिष्ठ उपाध्यक्ष पोखरेल समूहले यही दस्तावेजसहित आफ्नो उम्मेदवारी प्रस्तुत गर्न खोजेको छ।

यसमा भदौ २३ को घटना नेकपा एमाले नेतृत्वको सरकार र सरकारको नेतृत्व गरिरहेका अध्यक्ष केपी शर्मा ओलीकै कमजोरीको जगमा भएकाले त्यसको गम्भीरतापूर्वक समीक्षा हुनुपर्ने उल्लेख छ।

पोखरेलको समूहमा अहिलेसम्म ६ जना सचिवालय तहका नेता खुलेका छन्। उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई खुलिसकेका छन्। स्थायी कमिटी र पोलिटब्युरो तहका नेताहरू क्रमशः खुलिरहेका छन्।

पूर्वराष्ट्रपति विद्या भण्डारीले पनि पोखरेललाई भित्री रूपमा समर्थन गरेकी छन्। पोखरेल समूहले थापागाउँस्थित मदन भण्डारीको हीरक जन्मजयन्तीको मूल व्यवस्थापन समितिको कार्यालयमा छलफल, भेला र बैठक आयोजना गर्दै आएको छ। उक्त कार्यालय संस्थापन इतर समूहको सम्पर्क स्थलजस्तो भएको छ।

गत मंसिर ९ गते अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुपूर्व नै पोखरेलले संस्थापन पक्षबाट आफूलाई अलग गरिसकेका थिए।

अध्यक्ष ओलीसँग वरिष्ठ उपाध्यक्ष पोखरेलको लामै तिक्तता थियो। नवौं महाधिवेशनको केही समय अघिदेखि ओली पक्षमा खुलेका पोखरेल त्यसअघि पार्टी संस्थापन निकट थिए।