काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन तोकिएको न्यूनतम उमेर नपुगेर वञ्चित हुने अवस्था आएका विद्यार्थीहरूको जन्मदर्ता सच्याउनका लागि राष्ट्रिय परीक्षा बोर्डले सबै माध्यमिक विद्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।
यस सम्बन्धमा अभिभावक, विद्यालय र स्थानीय तहबाट बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा अनुरोध भएपछि समाधान खोजिएको हो।
- कानून संशोधनपछि सच्याउन सहज
नेपाल सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा ७२ अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा २५ (१) मा संशोधन गरेको छ। यस व्यवस्था अनुसार, कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन्।
- ईएमआईएस प्रणालीमा पनि विवरण सच्याइने
यसैगरी, नाम, थर, जन्ममिति सच्याइएका विद्यार्थीको जन्मदर्तामा उल्लेख भएको विवरण ईएमआईएस (ईएमआईएस) प्रणालीमा पनि सच्याउन सकिने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग मिति २०८२/०८/१७ मा भएको संयुक्त बैठकमा कक्षा १ देखि कक्षा ७ सम्मको हकमा विद्यालयबाटै र कक्षा ८ को हकमा सम्बन्धित स्थानीय तहबाट सच्याउन सकिने निर्णय भएको व्यहोरा बोर्डले जानकारी गराएको छ।

