Breaking News

इतिहास रच्दै लैङ्गिक-यौनिक अल्पसङ्ख्यक, पहिलोपटक दल दर्ता गर्दै चुनावमा

काठमाडौँ , नेपालको निर्वाचन इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिएको छ। महिला, दृष्टिविहीन, अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्तिहरूको सहभागितामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिएको हो। यो पहिलो सहभागिता मात्र होइन, दशकौँदेखि राज्य–राजनीतिबाट वञ्चित गरिँदै आएको समुदायको कथा–व्यथा लिएर आएको ऐतिहासिक उपस्थिति पनि हो।

निर्वाचन आयोगमा पहिलो पटक तेस्रोलिंगी अध्यक्ष भएको समावेशी समाजवादी पार्टी दर्ता भएको छ। दल दर्ताको प्रमाण बुझेकै दिन समावेशी समाजवादी पार्टीले निर्वाचन प्रयोजनका लागि निवेदन दिएको छ। यो दर्तासँगै नेपालको राजनीतिक इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले आफूलाई “भोट बैङ्क” होइन, “अधिकार र प्रतिनिधित्वको दाबी” सहित स्वतन्त्र राजनीतिक शक्ति बनाउन थालेको सन्देश प्रस्ट रूपमा गएको छ।

कार्तिक २४ गते काठमाडौँमा राष्ट्रिय भेला गरेर तेस्रोलिंगी अधिकारकर्मी, लिड नेपालकी कार्यकारी निर्देशक समेत रहेकी तथा हाल मायाको पहिचान नेपालमा आबद्ध नुमा लिम्बु (चञ्चला)को अध्यक्षतामा गठन भएको २१ सदस्यीय समावेशी समाजवादी पार्टीले २७ कार्तिकमा दल दर्ताको निवेदन दिएको थियो। उनी स्वयंले विद्यालयदेखि समाज, कार्यालयदेखि राजीनितिको गल्लीसम्म भोगेका गाली–गलौज, अपमान, पहिचान र नागरिकताको सङ्घर्षले यो दल गठनको प्रेरणा दिएको बताउँदै आएकी छन्।

नेपालमा पुरुष र महिला भन्दा भिन्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी, दुईलिंगी) व्यक्तिको पहिचान स्थापित गराएका पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तको पहलमा निर्वाचन आयोगमा दल दर्ता भएसँगै समावेशी समाजवादी पार्टी चुनावमा होमिएको हो। पन्तकै शब्दमा कागजमा लेखिएको पहिचान राजनीतिक प्रतिनिधित्वबिनै निरर्थक हुने भएकाले अब समुदायले आफ्नो आवाज आफैँ उठाउने समय आएको हो।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट २०६४ पछिका चुनावमा एक जनाको पनि प्रतिनिधित्व सुनिश्चित हुन सकेको छैन। दोस्रो संविधान सभा चुनावमा नेकपा एमालेले पन्तको नेतृत्वमा पाँच जनालाई सांसदको उम्मेदवार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए पनि उम्मेदवारी दर्तामा एक जनालाई पनि सहभागी गराएन। विद्यार्थी जीवनदेखि नै एमालेमा रहेका बद्री पुनलाई समेत टिकट दिइएन। त्यसबेला एमालेले प्रतिबद्धता कार्यान्वयन नगरेर धोका दिएको पन्त सुनाउँछन्।

“छुट्टै दल खोलेर चुनावमा जान पर्दैन, हामी छौँ नि भन्ने दलहरूले हामीलाई प्रयोग मात्रै गरे, भोट बैङ्कको रूपमा मात्रै हेरे,” पन्तको भनाइलाई पुष्टि गर्दै केन्द्रीय सदस्य तथा पहिलो मिस्टर गे हेण्डसम नेपाल विश्वराज अधिकारी पनि भन्छन्, “त्यसपछि नै समावेशी समाजवादी पार्टी गठन गरिएको हो।”

समुदायमा मात्र सीमित नरही समाजसँग हातेमालो गर्दै देशको विकास गर्न आफूहरू अघि सरेको अध्यक्ष चञ्चलाले बताइन्। उनले देशभरका लैङ्गिक अल्पसङ्ख्यकहरूलाई अब चुनावी प्रचारप्रसारमा होमिन आह्वान गरिन्। उनी भन्छिन्, “हामी प्रतिनिधित्व बेच्न होइन, अस्तित्व र पहिचान लिएर राष्ट्रिय राजनीतिमा उभिएका छौँ।”