Breaking News

जनकपुरधाममा भव्य रूपमा राम–जानकी विवाह पञ्चमी मनाइँदै

जनकपुरधाम । त्रेता युगमा भगवान श्रीराम र माता सीताको विवाहको स्मरणमा मनाइने राम–जानकी विवाह पञ्चमी जनकपुरधाममा भव्य रूपमा मनाइँदैछ । एक साता अघिदेखि नै विवाह पञ्चमीको तयारी सुरु हुन्छ । मन्दिर प्राङ्गण, सडक र रंगभूमि मैदान विभिन्न सांस्कृतिक झाँकी, फूल, दीप, झिलिमिली सजावट र धार्मिक सामग्रीले सजाइन्छ ।

आज हुने विवाहका लागि जानकी मन्दिरको विशाल प्राङ्गणमा आकर्षक विवाह मण्डप तयार पारिएको छ । प्रत्येक वर्षझैँ यसपटक पनि हजारौँ भक्तजन र देश–विदेशका दर्शनार्थी विवाह पञ्चमीमा सहभागी हुने अनुमान गरिएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबार र राम मन्दिरलाई अयोध्या दरबारको रूपमा चित्रण गरिन्छ । दुवै मन्दिर विवाह पञ्चमीको दिन विशेष रूपले सजाइन्छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भने, ‘जस्तो छोरीको बिहे गर्दा अनुभूति हुन्छ, त्यस्तै अनुभव विवाह पञ्चमीमा हुन्छ ।’

महन्थ रामतपेश्वर दास वैष्णव राजा जनकको भूमिकामा रहँदै वैवाहिक कार्यक्रम सञ्चालन गर्छन् । राम मन्दिरका महन्थ राम गिरी राजा दशरथको भूमिकामा सहभागी हुन्छन् । महन्थ गिरीले भने, ‘सीताजस्तो बुहारी पाउनु गौरवको कुरा हो । यस अवसरमा मधेश सरकारले मधेश प्रदे्शमा सार्वजनिक विदा दिएको छ ।