Breaking News

दोलखाको शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज स्थानीयलाई हस्तान्तरण 

-सन्जिब दुलाल 

हेटौँडा । बागमती प्रदेश संस्कृति पर्यटन मन्त्रालयबाट निर्माण सम्पन्न भएको दोलखाको शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ ।

शैलुङ्ग गाउँपालिका वडा नम्बर १ मा निर्माण सम्पन्न भएको शैलुङ्ग गोलघर र शैलुङ्ग गाउँपालिका वडा नम्बर ८ मा निर्माण भएको कम्युनिटी लज पर्यटन विकास आयोजना हेटौँडाबाट विभिन्न आर्थिक वर्षमा निर्माण सम्पन्न भएका थिए । उक्त संरचनाहरू संस्कृति पर्यटन मन्त्रालयबाट जारी भएको  पर्यटन पूर्वाधार हस्तान्तरण कार्यविधि २०८१ बमोजिम  गाउँपालिकाले नै संरक्षण सञ्चालन तथा व्यवस्थापन गर्नको लागि २०८२ मङ्सिर २ गते शैलुङ्ग गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

प्रदेशमा निर्माण सम्पन्न भएका संरचनाहरू स्थानीय पालिकाहरूलाई हस्तान्तरण गर्ने कार्यविधि अनुसार नै मन्त्रालयले पहिलो चरणमा शैलुङ्ग गाउँपालिकामा निर्माण सम्पन्न भएको गोलघर र कम्युनिटी लज पालिकालाई हस्तान्तरण गरेको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हामीले बनाएका संरचनाहरू स्थानीयलाई हस्तान्तरण नगर्दा उक्त संरचनाहरू मक्किने तथा विभिन्न अराजक तत्त्वहरूले तोडफोड गर्ने बिगार्ने र हामीले गरेको लगानीको प्रतिफल समेत खेर जाने भएका कारण आफू मन्त्री भएर आएको पहिलो दिन देखि नै उक्त निर्माण सम्पन्न भएका संरचनाहरू हस्तान्तरणका लागि आफै स्थलगत रूपमा अनुगमन समेत गएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा शैलुङ्ग गाउँपालिकामा निर्माण सम्पन्न भएको संरचनाहरू हस्तान्तरण गरेका छौ आगामी ७ गते नुवाकोटको ककनीमा निर्माण सम्पन्न भएको भ्यूटावर तथा मल्टीप्रपोज हलको हस्तान्तरण गर्ने र केही समयमा नै नुवाकोटको चिम्टेश्वरमा बनेको भ्यूटावरको पनि हस्तान्तरणको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

हामी मन्त्रालयका टिम हाम्रो मन्त्रालयबाट निर्माण सम्पन्न भएका सम्पूर्ण संरचनाहरू स्थानीय निकाय वा सरोकारवालाहरूलाई हस्तान्तरणका प्रक्रियामा रहेको समेत उहाँले जानकारी दिनुभयो ।

प्रदेशले निर्माण गरेका संरचनाहरू लामो समय देखि यतिकै थन्केर बस्दा उक्त निर्माण सम्पन्न भएका संरचनहरुबाट आउनु पर्ने प्रतिफल समेत नआउने भएपछि मन्त्रालयले पर्यटन पूर्वाधार हस्तान्तरण कार्यविधि २०८१ बनाई उक्त कार्यविधिमा नै रहेर शैलुङ्गका दुई संरचना पालिकालाई हस्तान्तरण गरिएको बागमती प्रदेश संस्कृति तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार हस्तान्तरण गरिएका संरचनाहरू सञ्चालनमा आउन र जे उद्देश्यका लागि निर्माण भएका हुन उक्त संरचनाहरूबाट प्रतिफल पनि प्राप्त होस भनी हस्तान्तरणको कार्यविधि अनुसार शैलुङ्गको संरचनाहरू हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

२०७६ साल देखि बहुबर्षिय योजनाका रूपमा सुरु गरिएको परियोजनाहरूको हालको अवस्था मूल्याङ्कन गरी मर्मत संभार गर्नु पर्ने भए हस्तान्तरण पछि मर्मत गर्ने गरी निर्माण सम्पन्न भएका संरचनाहरूको हस्तान्तरणको प्रक्रिया अनुसार शैलुङ्गको संरचनाहरू हस्तान्तरण गरिएको आयोजना प्रमुख रोशन श्रीवास्तवले बताउनुभयो।

शैलुङ्गमा निर्माण सम्पन्न भएका संरचनाहरू पालिकालाई हस्तान्तरण हुँदा पालिका र प्रदेशको नै आम्दानी बढ्ने शैलुङ्ग गाउँपालिकाका प्रमुख रिमल बाबु श्रेष्ठले बताउनुभयो । उहाँले हामीले लामो समय देखि उक्त निर्माण सम्पन्न भएका संरचनाहरू पालिकालाई हस्तान्तरण गर्न ताकेता गरे पनि माननीय सुरेश श्रेष्ठ मन्त्री भएर आएपछि उक्त संरचनाहरू हस्तान्तरण भएकोमा आफूहरूलाई खुसी लागेको उहाँले बताउनुभयो ।

शैलुङ्गको संरचनाहरू हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश संस्कृति पर्यटन मन्त्री सुरेश श्रेष्ठ, प्रदेश सचिव दीपेन्द्र सुवेदी, आयोजना प्रमुख रोशन श्रीवास्तवले शैलुङ्ग गाउँपालिकाका अध्यक्ष रिमल बाबु श्रेष्ठ, पालिकाकाका कार्यकारी अधिकृत सन्जिब न्यौपाने र शैलुङ्ग गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष वीर बहादुर घतानीको उपस्थिति रहेको थियो ।

हस्तान्तरण भएका दुवै संरचनाहरूबाट हुने आम्दानीको ३० प्रतिशत प्रदेशले र ७० प्रतिशत पालिकाले पाउने छ ।