Breaking News

महाधिवेशन हुन नसके महामन्त्रीबाट राजीनामा दिन्छु – विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद समाधान गर्न पहलकदमी लिएका छन्।

उपचार गरी सिंगापुरबाट फर्केका सभापति देउवाले हिजोआज पदाधिकारी र पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूसँग ‘वान टू वान’ कुराकानी गरेका छन्।

महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा सभापति देउवाले अरू नेताहरूसँग छलफल गर्दै आएका हुन्।

असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक चले पनि नेताहरूले धारणा राखेर सकिँदासम्म बैठक निष्कर्षमा पुग्न नसकेर स्थगित छ।

सोमबार दिउँसो २ बजे पुनः केन्द्रीय समिति बैठक बस्दैछ।

यसबीचमा सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आ-आफ्नो ठाउँबाट केन्द्रीय समितिमा देखिएका महाधिवेशन तिथिमितिलगायत मतभेदहरूलाई अन्त्य गरी सर्वसम्मत निर्णय गराउने वातावरण तयार गर्न नेताहरूसँग कुराकानी गरिरहेका हुन्।

कात्तिक २८ गते बेलुकी स्वदेश फर्किएका देउवाले त्यसपछि कार्यवाहक सभापति खड्का, प्रवक्ता प्रकाशशरण महत लगायत आफूनिकट केही पदाधिकारी र केही केन्द्रीय सदस्यहरूसँग कुराकानी गरे।

सभापति देउवासँगको भेटमा उनीनिकट नेताहरूले चुनावमा केन्द्रित हुनुपर्ने र वैशाखमा नियमित महाधिवेशन उपयुक्त हुने कुरा राखे। जबाफमा सभापति देउवाले चुनावमा केन्द्रित हुनुपर्छ भनेका छन्।

प्रवक्ता प्रकाशशरण महतका अनुसार सभापति देउवाले नेताहरूसँग भेट गर्ने काम गर्दै आएका छन्।

साथै सभापति देउवाले आज महामन्त्री विश्वप्रकाश शर्मासँग कुराकानी गरेका छन्।

सभापति देउवाले महामन्त्री शर्मासँग आज करिब सवा १ घन्टा कुराकानी गरे।
महामन्त्री शर्माले केन्द्रीय समितिमा विभिन्न एजेन्डामाथि आएका धारणा, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेको र समसामयिक राजनीतिक घटनाक्रमबारे सभापति देउवालाई ब्रिफिङ गरेका थिए।

‘सरकार बनाउने धाराभन्दा बाहिर गएर सरकार बन्नु संविधानसम्मत हुँदैन भनेजस्तै कांग्रेस पनि विधानको धारा १७ को उपधारा २ मा उल्लेख भएको व्यवस्थालाई सम्बोधन गर्ने गरी अघि बढेन भने पार्टी विधानअनुसार चलेको हुँदैन,’ महामन्त्री शर्माले सभापति देउवालाई भने, ‘कांग्रेस विधानअनुसार चलेन भने पार्टी र देशका पनि दुर्भाग्यपूर्ण हुन्छ।’

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशनको विषयलाई सम्बोधन गर्ने गरी पार्टी अघि बढ्नुपर्ने कुरा पनि महामन्त्री शर्माको छ।