काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समिति बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको छ ।
चार वटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्दै त्यसलाई स्वीकृत गरिएको हो ।
सुरक्षा निकायको भूमिका र जिम्मेवारी विभाजन, राजनीतिक गतिविधि, सीमा क्षेत्रमा हुन सक्ने घुसपैठ लगायतका लागि आवश्यक सुरक्षा योजना तयार भएको बताइएको छ।
त्यसैगरि निर्वाचनमा सेना परिचालनका लागि एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रस्ताव भएअनुसार रक्षा मन्त्रालयमार्फत राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने निर्णय भएको छ। हिंसा भड्काउने र जनतालाई आतङ्कित पार्ने गतिविधिहरूलाई निस्तेज गर्नका लागि कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय भएको छ।
त्यस्तै केन्द्रीय सुरक्षा समितिले निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने पनि निर्णय गरेको छ ।

