एजेन्सी/ बिहार । बिहार विधानसभा निर्वाचनको पहिलो चरणमा बिहीबार १८ जिल्लाका १२१ विधानसभा सिटमा मतदान भइरहेको छ। यस चरणमा कुल १ हजार ३१४ उम्मेदवारका लागि मतदाताले आफ्नो मत खसाल्दै छन्।
यसपटकको चुनावमा पनि एनडीए र विपक्षी महागठबन्धनबिच सीधा प्रतिस्पर्धा हुने अनुमान छ। तर, प्रशान्त किशोरको पार्टी जन सुराज (जनशक्ति जनता दल) ले पनि धेरै सिटमा चुनावी समीकरण बिगार्न सक्ने सम्भावना छ।
तेज प्रताप यादव: आरजेडीबाट अलग्गिएपछि आफ्नै पार्टी जनशक्ति जनता दल बनाएका लालू प्रसाद यादवका जेठा छोरा तेज प्रताप महुआ सिटबाट चुनावमा छन्। उनको भिडन्त आरजेडीका वर्तमान विधायक मुकेश रौशनसँग हुनेछ।
सम्राट चौधरी: नितिश सरकारका उपमुख्यमन्त्री सम्राट चौधरी बीजेपीको तर्फबाट तारापुरबाट पहिलो पटक चुनाव लड्दै छन्। यस सिटमा उनको सीधा प्रतिस्पर्धा आरजेडीका अरुण कुमारसँग हुने मानिएको छ।
विजय कुमार सिन्हा: अर्का उपमुख्यमन्त्री विजय कुमार सिन्हा लखीसराय सिटबाट लगातार चौथो पटक चुनावी मैदानमा छन्।
खेसारी लाल यादव: भोजपुरी गायक तथा अभिनेता शत्रुघ्न यादव उर्फ खेसारी लाल यादव आरजेडीको टिकटमा छपरा सिटबाट उम्मेदवार बनेका छन्। यो सिटमा उनको प्रतिस्पर्धा बीजेपीकी छोटी कुमारीसँग हुने देखिन्छ।
मैथिली ठाकुर: चुनावअघि बीजेपी प्रवेश गरेकी गायिका मैथिली ठाकुर दरभंगाको अलीनगर सिटबाट मैदानमा छिन्। उनको प्रतिस्पर्धा आरजेडीका विनोद मिश्रसँग हुनेछ।
बाहुबली भिडन्त: बाहुबलीको चर्चाका कारण मोकामा सिट निकै चर्चामा छ, जहाँ बाहुबली नेता मानिने वीणा देवी (आरजेडी) र अनन्त सिंह (जेडीयू) आमने-सामने छन्।
प्रीति किन्नर: गोपालगञ्जको भोरे सिटबाट प्रशान्त किशोरको जन सुराज पार्टीले ट्रान्सजेन्डर प्रीति किन्नरलाई उम्मेदवार बनाएकाले यो सिट पनि चर्चामा छ।
ओसामा शहाब: सिवानका पूर्वसांसद शहाबुद्दीनका छोरा ओसामा शहाब आरजेडीको तर्फबाट रघुनाथपुर विधानसभा सिटबाट उम्मेदवार छन्।
शिवानी शुक्ला: बाहुबली मुन्ना शुक्लाकी छोरी शिवानी शुक्ला आरजेडीबाट लालगञ्ज सिटबाट चुनाव लड्दै छिन्। उनले लन्डनको लिड्स युनिभर्सिटीबाट वकालत पढेकी छन्।
यसबाहेक, पहिले चरणमा नितिश सरकारमा मन्त्री रहेका विजय कुमार चौधरी (जेडीयू, सरायरञ्जन) र बीजेपीका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री मंगल पाण्डे (सिवान) पनि चुनाव मैदानमा छन्।
बिहारमा दुई चरणको मतदानका लागि कुल ७ करोड ४३ लाखभन्दा बढी मतदाताका लागि ९० हजार ७१२ मतदान केन्द्र बनाइएको छ।
दोस्रो चरणको मतदान २० जिल्लाका १२२ सिटमा नोभेम्बर ११ मा हुनेछ भने मतगणना नोभेम्बर १४ मा गरिनेछ।

