Breaking News

लगातारको बर्षासँगै बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका
छन् ।

अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध छ ।

यसैगरी नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुन माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्ला भित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने छ ।