काठमाडौँ । काठमाडौँको तीनकुनेमा २०८१ चैत १५ मा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईँले छठपछि फेरी आन्दोलन गर्ने उद्घोष गरे । प्रसाईँको उद्घोषपछि उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एसएसपीहरूले छलफल गरेका छन् ।
प्रसाईँसँगको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, एसएसपी रमेश थापा, ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, एसएसपी होविन्द्र बोगटी र भक्तपुरका प्रजिअ नमराज घिमिरे सहभागी थिए ।
छलफलमा सहभागी अधिकारीहरूका अनुसार तत्काल ‘आन्दोलन गर्दिंनँ’ भनेर प्रसाईँले स्थानीय प्रशासनसँग कमिटमेन्ट गरेका छन् ।
ती अधिकारीका अनुसार प्रसाईँले वार्ताबाट समस्याको समाधान नभए मंसिर दोस्रो साता मात्र आन्दोलन गर्ने बताएका छन् । साइत हेरेर उनले मंसिर दोस्रो साता आन्दोलनको मिति घोषणा गर्ने छलफलमा बताएका हुन् ।
पूर्वराजाको समर्थनमा तीनकुनेमा आयोजना गरिएको प्रदर्शन बिथोलिएपछि उनी बिएबी–४२०८ नम्बरको स्कोर्पियोमा चढेर भारत भागेका
थिए । प्रसाईँलाई प्रहरीले आसामबाट पक्राउ गरेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरेको थियो ।

