Breaking News

जेनजी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा एमाले निकट कार्यकर्ता पक्राउ

‘जेनजी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता सोनम थेबे पक्राउ परेका छन् । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी  घर भई हाल काठमाडौं धुम्बाराही बस्ने थेबे आइतबार पक्राउ परेका हुन् ।

चक्रपथ,महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेबे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जनाए । उनले धुम्बाराही क्षेत्रका व्यवसायीहरुलाई धाक धम्की दिएर रकम असुल गर्दै आएका थिए ।

उनी गुण्डा नाइके चक्रे मिलन समूहका हुन् । गुण्डागर्दीमा सलंग्न थेबे पटके गुण्डासमेत हुन् । गुण्डागर्दी,मीटर ब्याज र दक्षिण कोरिया पठाइदिने भन्दै पैसा असुलेको आरोप लागेका थेबेलाई यसअघि पनि खोजी गर्दा नेकपा (एमाले)का नेताहरुले नपक्रिन प्रहरीलाई पटक पटक फोन गरेका थिए । प्रहरीले यसअघि उनकै गाउँ ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम घर भई हाल काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय सहारा सुब्बा (थेबे)लाई पक्राउ गरेको थियो ।

वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख ३० हजार ठगी गरेको अभियोगमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ भदौ २०८२ मा पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार यो ठगीमा सनम थेबे पनि संलग्न थिए । तर ताप्लेजुङका एमाले नेताहरुको दबाबमा थप अनसन्धान रोकिएको थियो ।
उनी एमाले र युवा संघका सक्रिय कार्यकर्ता हुन् । विभिन्न कार्यक्रमहरुमा युवाहरु भेला पारेर लैजाने गरेका थिए ।

जनआस्थाबाट