Breaking News

एमालेले गुण्डुमा कार्यकर्ता भेला गर्दै अध्यक्ष ओलीले सम्बोधन गर्ने

नेकपा (एमाले) ले भक्तपुरको गुण्डुमा कार्यकर्ता भेला गर्दैछ। एमाले भक्तपुर जिल्ला कमिटीले आज बिहान ११ बजे सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालयनजिकै कार्यकर्ता भेलाको आयोजना गरेको हो। जसको प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओली छन्। उक्त कार्यक्रममा एमालेका अन्य शीर्षस्थ नेताहरू पनि सहभागी हुने आयोजकले जानकारी दिएका छन्।

एमालेले सामाजिक सञ्जाल टिकटक लगायतका प्लेटफर्ममा असोज २३ को कार्यक्रमबारे व्यापक प्रचार भएको भदौ २४ जस्तै घटनाको पुनरावृत्ति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर एमालेले प्रदर्शनको तयारी गरेको थियो। त्यसैलाई कार्यकर्ता भेलामा परिणत गरेको एक नेताले बताए।

अ‍ोली सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा डेरा गरी बसिरहेका छन्। जेनजी आन्दोलनबाट बालकोटस्थित ओली निवासमा आगजनी गरिएपछि त्यो घर बस्न नसकिने अवस्थामा रहेकाले ओली सेनाको ब्यारेकको १० दिने बसाईपछि गुण्डुमा भाडाको घरमा बस्न थालेका हुन् । ओली गुण्डु सरेपछि खासै सार्वजनिक कार्यक्रम वा पार्टीको कार्यक्रममा सहभागी भएका छैनन् । अ‍ोलीले राजनीतिक गतिविधि गुण्डुबाटै सञ्चालन गरिरहेका छन्।

एमाले अउँदो शुक्रबार, र शनिबार सचिवालय बैठक राखेको छ। आगामी २७ देखि २९ सम्म केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। त्यसपूर्व अध्यक्ष ओलीले प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसमेतलाई भर्चुअल बैठकमार्फत् सम्बोधन गरिसकेका छन्।