२२ असोज, काठमाडौं । साइबर अपराधको कसुरमा हेरी परेपछि आफुमाथि परेको जाहेरी बारे बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उपस्थित भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता बस्नेतलाई बयानका लागि बोलाएको थियो । सोही अनुसार उनी आज बिहान ब्यूरोको कार्यालयमा हाजिर भएर लिखित बयान दिएका हुन ।
ब्यूरो स्रोतका अनुसार बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका हुन् । सरकारी वकिल कार्यालयले नै पठाएको प्रश्नको उनले लिखित जवाफ दिएको ब्यूरो स्र्रोतले बतायो ।
‘सरकारी वकिल कार्यालयले हामीलाई तीन वटा टास्क दिएको थियो । त्यो मध्ये एउटा बयानका काम सकिएको छ । बाँकी दुई वटा काम सकिएपछि प्रतिवेदन पेश गर्ने छ ब्यूरोले ।
ब्यूरो स्रोतका अनुसार सरकारी वकिल कार्यालयले तयार गरेका प्रश्नमा उनले इन्कारी बयान दिएका छन् ।
बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो निर्देशन अनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो ।

