काठमाडौं । निरन्तरको भारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित हुनुका साथै यात्रारत महानुभावलाई कष्टकर भएको छ । गएको शुक्रबार रातिदेखि सुरु भएको वर्षा देशैभर फैलिएको थियो ।
दशैंंको टिका सकिए लगत्तै सुरु भएको वर्षा आज बिहान काठमाडौं उपत्यकामा रोकिएको छ भने अन्त पानी परिरहेको छ । दशैं मनाउन घर गएकाहरू कर्मथलो फर्कने क्रममा रहेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । देशका मुख्य–मुख्य राजमार्ग नै अवरुद्ध ुछन् ।
यसैबीच सरकारले वर्षा निरन्तर आईरहेको छ । ठाउँठाउँमा सडक अवरुद्ध भएर यातायात चल्न नसक्ने भएपछि आज आइतबार र भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले बिहानैदेखि विभिन्न युनिटहरू परिचालन गरेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखा, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, ऊर्जा एवं भौतिक मन्त्रालय लगायतको समन्वयकारी भूमिकाले अहिलेसम्म ठूलो मानवीय क्षति भने भएको छैन् ।
केही दिनदेखि नै जारी भएका मौसम बुलेटिन, मौसविद्हरूको निरन्तरको खबरदारी र विपद् व्यवस्थापनमा सरकारले देखाएको चनाखोले पनि भारी वर्षाका बीच सर्वसाधरणहरू सूचनाको पहुँचमै बस्न सकेका छन् ।
राजमार्ग अस्तव्यस्त
उपत्यका प्रवेश गर्ने मुख्य राजमार्गहरू धेरैजसो अवरुद्ध भएका छन् । कोशी, पृथ्वी, बीपी, अरनिको, सिद्धिचरण लोकमार्ग, कुलेखानी सडकखण्ड, पासाङ ल्हामु सडकखण्ड लगायतका राजमार्ग पूर्ण रुपमा अवरुद्ध छन् ।
राजमार्गमा अलपत्र परेका यात्रु र सवारी साधनलाई सकेसम्म चाँडो सुरक्षित स्थानमा लाने प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।
बीपी राजमार्गमा पर्ने रोशी खोलामा गत वर्ष असोजमा आएको बाढीपछि बनाइएका डाइभर्सनहरू धेरैजसो बगाएको छ ।
रोशी र नमोबुद्धको सिमाना चौकीडाँडा, रोशी ७ को घुमाउने, रोशी ८ को चारसयबेशी मुनीको भाग, गिम्दीबेशी र स्याउलेबजार माथीको भाग, रोशी ९ को नार्के र बोक्सीकुना, रोशी ११ को डालाबेशी, पिप्ले र डालावेशीको विचको भाग बुलढुंगा, रोशी ११ पिप्ले, रोशी १२ माम्तीमा बीपी राजमार्ग कटान भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने तुइन खोलामा निरन्तर ढुंगा खस्ने क्रम जारी छ । यद्यपि त्यहाँ केही घण्टादेखि एकतर्फी सडक खुलाइएको थियो ।
अहिले चितवन भएर जाने सबै सवारी साधन चलाउन रोक लगाइएको छ ।
यात्रुलाई होटलमा छुट
बीच बाटोमै अलपत्र परेका यात्रुहरूलाई होटल तथा खानाको प्रबन्ध पनि विभिन्न ठाउँमा मिलाइएको छ ।
काभ्रेको धुलिखेल, चितवनका विभिन्न होटल, कोशी राजमार्गका होटल लगायतका ठाउँमा व्यवसायीहरूले खाना तथा बासको व्यवस्था मिलाउन थालेका हुन् ।
गृह मन्त्रालयले पनि सहजीकरणका लागि स्थानीय प्रशासनलाई परिपत्र जारी गरिसहेको छ । सोही अनुसार ७७ वटै जिल्लामा आपतकालिन अवस्थामा सम्पर्क गर्ने नम्बर पनि सार्वजनिक गरेको छ ।

