१५ असोज, भादगाउँ। महानवमीका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ।
यहाँ खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी खःमेय् जात्रा मनाइने परम्परा रहेको छ। महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रालाई विजयादशमीको एक महत्त्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ।
नवदुर्गा द्योःछें(देवगृह)मा राखिएका खःमेय्लाई जाँडको कट खुवाएर, जिउभरी सिन्दुर र तेल लगाई लठ्ठ पारी तान्त्रिक विधिअनुरुप पूजाआजा गरी नवदुर्गा द्योःछेवाट बाहिर निकालर दौडाउने र ब्रम्हायणी पीठसम्म पुर्याइने गरिन्छ।
खःमेय्को ससाना मासुका टुक्रा प्रसादका रूपमा घरलगी सुकुटी बनाउने र धुलो पारेर घ्युमा मुछी धुप बनाइन्छ। उक्त धूप लक्ष्मीपूजाको दिनमा बाल्ने चलन रहेको छ। त्यस दिन धूप बाल्दा घरमा भूतप्रेत भाग्ने, सत्रु नाश हुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वास रहेको छ।

