चीन र भारतीय सेनाबीच झडप हुँदा भारतीय तीन जना सैनिकको मृत्यु

एजेन्सी

२ असार, काठमाडौं । मे ५ मा लद्दाखको प्यान्गोङ सो हिमताल नजिकै दुई देशका सैनिकहरूबीच धकेलाधकेल भएको थियो । उक्त धकेलाधकेलमा परी दुबैतर्फका केही सैनिकहरू घाइते भएका थिए ।

भारतीय सैनिकले एक विज्ञप्ति जारी गर्दै लद्दाखको गल्वानमा उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा परी एक अधिकृतसहित आफ्ना तीन जना सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।

त्यसपछि चिनले पनि विज्ञाप्ति जारी गर्दै भारतीय सैनिकले यसअघिको सहमति विपरीत दुई पटक सीमा पार गरेर आएको र उत्तेजित पार्ने खालको आक्रमण गरेको ‘त्यसपछि भएको झडपमा तीन भारतीय सैनिकको मृत्यु भएको हो,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।

सो घटनामा हतियार प्रयोग भएको थियो कि थिएन भन्ने खुलेको छैन ।

पछिल्ला केही दिनदेखि लद्दाखमा दुई देशबीच तनाव जारी छ ।

चिनियाँ जनमुक्ति सेना यसअघिको लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेर केही किलोमिटभित्र भारतीय भूमिमा आएपछि तनाव भएको भारतको दाबी छ ।

सीमामा तनाव बढेपछि दुबै देशले सैन्यस्तरको वार्ता र सीमामा सैन्य उपस्थिति पनि बढाएका छन् ।

पछिल्ला दिनमा पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको उनीहरूको दाबी छ । चिनियाँ सञ्चारमाध्यमहरूले आपतकालीन अवस्थामा कसरी चिनियाँ फौज लद्दाखको सीमासम्म पुग्न सक्छ भनेर केही दिनअघि एक भिडिओ सार्वजनिक गरेका थिए ।