एनआइसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय उनको भूमिका विवादास्पद बन्दैगएपछि बैंक सञ्चालक समितिले बर्खास्त गर्ने तयारी गरेपछि पदबाट राजीनामा दिएका हुन् ।
स्रोतका अनुसार, न्यौपानेको कार्यकालमा बैंकको आन्तरिक प्रशासनदेखि लगानी रणनीति, कर्मचारी व्यवस्थापनलगायतमा समेत गम्भीर प्रश्न उठिरहेका थिए । केही समयदेखि खस्किँदै गएको बैँकको वित्तीय अवस्था, कर्मचारीका आधारभूत सेवा सुविधामा कटौती, अत्यधिक फजुल खर्च, जोखिमयुक्त लगानी, लाभांश विवाद, असफल विलय प्रयासजस्ता विषयले सञ्चालक समितिदेखि कर्मचारी वृत्तमा समेत उनीप्रति असन्तुष्टि बढाएको थियो।
बोर्डले असार महिनामै उनको कामकारबाहीबारे आन्तरिक समीक्षा थालेको थियो। सोही समीक्षा प्रतिवेदनमा देखिएको कमजोरीका कारण बर्खास्तको तयारी भइरहँदा उनले बुधबार नै राजीनामा बुझाएका हुन्।
उनको राजीनामासँगै अब बैंकले नयाँ सिइओ नियुक्त गर्ने तयारी थालेको छ। यसैबीचमा सिइओको प्रमुख दाबेदार रहेका सिनियर डेपुटी सिइओ सन्तोष कुमार राठीलाई कार्यवाहकको जिम्मेवारी दिइएको छ।

