Breaking News

देशभक्तिको मशाल Gen Z को सशक्तिकरण आन्दोलन र शहादतको स्मृति

काठमाडौ. । नेपाल सदैव युवा पुस्ताको साहस र बलिदानले नयाँ इतिहास लेख्ने भूमिमा उभिएको छ। विगतका संघर्षहरू जस्तै, आजको दिनमा पनि नयाँ पुस्ता Gen Z ले आफ्नो अधिकार, समानता र सशक्तिकरणको निम्ति आवाज बुलन्द गर्दै राष्ट्रलाई नयाँ दिशातर्फ अग्रसर गरिएका छन्।

यही ऐतिहासिक यात्रामा, नेपालको भविष्यका कर्णधार युवाहरूले उठाएको सशक्तिकरण आन्दोलनले केही सपनाहरूलाई अधुरै बनाइदियो। देशभरि शहादत प्राप्त गरेका तिनै वीर सन्तानहरूको स्मृतिमा, आज सम्पूर्ण राष्ट्र शोकमग्न छ। उनीहरूको आहुति केवल एउटा आन्दोलनको प्रतीक मात्र होइन, भविष्यका सन्ततिहरुको भविष्यलाई उज्यालो, र प्रशन्न बनाउने प्रेरणाको शाश्वत ज्योति हो।

आज २०८२/६/१ बुधबारका दिन देशले शोक दिवस धोषणा गरिएको छ। देशभर शोकमग्न भए संगै इमाडोल, महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धिपुर अन्तर्गत दत्ती, चनाचो, का टोलबासीहरूले पनि शहीदहरूको सम्झनामा शोकसभा र दीप प्रज्वलन कार्यक्रम आयोजना गरे। जन आन्दोलनमा आफ्नो जीवन आहुति दिने वीर सन्तानहरूको सम्झनामा स्थानीयहरूले दिएको श्रद्धाञ्जली अत्यन्तै अर्थपूर्ण बन्यो। अँध्यारो रातलाई विद्रोही दीपहरूले आकाश नै उज्यालो बनाइदिए झैँ, उनीहरूको बलिदानले नेपाललाई अझ सबल र सचेत बनाउने आशा बोकेको छ।

यो आन्दोलन केवल एक पुस्ताको आवाज मात्र थिएन, Gen Z देखि भविष्यमा आउने Gen Delta सम्म को आवाज थियो। यो न्याय र समानता सँगै आफ्नो हक अधिकार र देशको सुनिश्चित भविष्यका निम्ति उठेको सम्पूर्ण राष्ट्रको आत्मीय आवाज थियो। शहीदहरू हाम्रो लागि केवल नाम, सम्झना मात्र होइनन्, उनीहरू भविष्यका लाखौँ सन्ततिका सपनाका संरक्षक हुन्। उनीहरूको बलिदानले देखाएको बाटोमा हिँड्दै, हामीले स्वाभिमानी, आत्मनिर्भर र सबल नेपाल निर्माण गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी बोकेका छौँ।

आज देशै भरिका दीपहरूको उज्यालोले हामीलाई सम्झाइरहेको छ—शहीदहरूका अधुरा सपनालाई पूरा गर्ने प्रतिज्ञा गर्नु नै सबैभन्दा ठूलो श्रद्धाञ्जली हो। यो शोक दिवस मात्र होइन, यो हाम्रो संकल्प दिवस हो, भविष्यको सुरक्षित दिवस हो। जहाँ प्रत्येक वीर नेपालीको मुटुमा देशप्रेमको ज्वाला अझ दह्रिलोसँग प्रज्वलित हुन्छ।

वीर शहीद अमर रहोस्।