Breaking News

अध्यक्ष थापाले परिवारलाई बुझाए अलपत्र परेका अमृतलाई

पाँच महिना देखी युनाईटेड अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका पोखरा महानगरपालिका वडा नंं २६ का अमृत रानाभाटलाई उद्धार गरेर परिवारलाई बुझाईएको छ । वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले युएई देखी रानाभाटलाई उद्धार गरेर ल्याई मंगलबार परिवारलाई बुझाएका हुन ।

रानाभाट सन् २०२३ मा रोजगारीको शिलशिलामा जिप्सन वोर्ड हेल्परको कामका लागि युएई पुगेका थिए । शुरुमा एघारसय डिराम तलब तोकिएर युएई पुगेका रानाभाटले कम्पनीले तोेके अनुसारको तलव नपाएपछि छाडेर अर्को झुमर टेक्निकल सर्भिसमा सरेका थिए । त्यहाँ पनि भनेजति तलव नपाउने र कहिले पैसा पाउने कहिले नपाउने समस्याबाट गुज्रिएका थिए । कामको व्यवस्थापन नभएपछि विगत पाँच महिनादेखी उनी सडकमै अलपत्र पर्दै आएका थिए । कैयन पटक घर आउन खोजे रानाभाटले भनेर्— तर कसैले साथ दिएनन्, घरमा फोन गर्ने पैसा र मोवाईल समेत थिएन ।” अलपत्र परेको अवस्थामा आफ्नै वडाको अध्यक्ष फेला पार्दा अविभावकनै भेट्टाएको अनुभव भएको थियो, रानाभाटले भने ।

कहिले सडकमा, कहिले नेपालीले काम गर्ने स्थान वरीपरि बेवारिसे अवस्थामा दिन काट्ने गरेको उनले बताए । कैयन रात भोकभोकै बिताए उनले भने— गर्मिबाट बच्न दिनभरी सार्वजनिक यातायातमा हिड्थे । खाने बस्ने ठेगाना समेत नभएका रानाभाटको अवस्थाका बारेमा सामाजिक संजाल मार्फत जानकारी पाएपछि युएईको एक कार्यक्रममा पुगेका वडा नं. २६ का अध्यक्ष थापाले उनलाई उद्धार गरेका हुन ।

छोरालाई उद्धार गरेर ल्याईदिए पछि रानाभाटकी आमा शान्ती रानाभाटले भगवानको रुपमा वडाध्यक्ष पाएको उल्लेख गरे । उनले आफुहरुलाई टिकटकमा छोरा अलपत्र परेको भिडियो गाउँले देखाईदिएको बताईन । छोरा फर्कियो, अव यही सहारा हो, शान्तिले भनिन् ।
घर फर्किएका अमृतले पनि अव गाउँघरमै कृषि पेशा गरेर आमा र दाजुभाईसँग समय बिताउने उल्लेख गरे । अध्यक्ष थापाले विदेशमा अलपत्र परेको वडाको नागरिकलाई उद्धार गर्दा जनप्रतिनिधिको कर्तव्य पुरा गरेको बताए । उनले अमृतलाई रोजगारीको वातावरण सिर्जना गर्न आफुले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । रानाभाट दुई बर्ष अगाडी एक लाख खर्च गरेर प्याराडाइज नामको म्यानपावरबाट युएई पुगेका थिए ।