२९ भदौ, काठमाडौं । जेनजीको आन्दोलनका कारण ठप्प भएको सरकारी दैनिक कामकाई सुचारु हुन थालेको छ । जेनजीले मुख्य प्रशासनिक सिंहदरबार सहित देशका धेरै सरकारी कार्यालयहरु ध्वस्त भएका थिए । नयाँ प्रधानमन्त्रीले आजबाट पदभार सम्हालेसँगै भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार सरकारले आजैदेखि भुक्तानी दिने काम थालिसकेको छ ।
उता, राजस्व संकलनको काम समेत सुचारु भएको छ । धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका छन् । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य कार्यालय समेत सञ्चालनमा आइसकेको प्रवक्ता पाण्डेयले जानकारी दिए ।
अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको छ ।
सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलबभत्ता पाउने सबै कर्मचारीले दशैं अगाडि नै तलब(भत्ता पाउने भएका छन् । साथै भैपरी आउने कार्यहरुमा समेत भुक्तानी प्रणाली सुचारु भएको छ ।

