विराटनगर । जेनजीको आन्दोलनको क्रममा सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध भएको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएका थिए । अस्पताल स्रोतका अनुसार गोली लागेर अन्दाजी २५ र ३० वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।
सुनसरी प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका थिए । आगजनीमा संलग्न भएको भन्दै प्रहरीले केही युवालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा लगेपछि प्रदर्शनकारीले ढंगामुढा गरेका थिए ।

