नेपालगन्ज । बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा आज सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को अन्तिम चौमासिकमा भएका क्रियाकलापसँगै समग्र बार्षिक प्रगति प्रश्तुतीकरण गरिएको सार्वजनिक सुनुवाईमा सरोकारवाला र सहभागिहरु बिच झण्डै अढाई घण्टासम्मको दोहोरो प्रश्नोत्तर पश्चात ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।
घोषणा गरिएका प्रतिबद्धताहरुमा जेष्ठ नागरिकहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै घरदैलो स्वास्थ्य सेवा प्रवाह गर्ने, भूमि ऐन अन्तरगत मापदण्ड पुरा भएका भूमिहिन तथा सुकुम्बासीहरुलाई यथासक्य लालपुर्जा उपलब्ध गराउने गरी कार्य गर्ने, चादनी चौक देखि उत्तर तर्फको सडकमा रहेको कल्भर्ट निर्माण नहुदा आवतजावतमा समस्या आएकोले हिउदे अधिबेशन पश्चात कल्भर्ट निर्माणको पहल गर्ने, पालिका भित्र सञ्चालन हुने विकास निर्माणका कार्यहरु समयमा नै पुरा गर्ने गरी काम गर्ने, बैजनाथ गाउँपालिका वडा नम्बर १ मा लामो समय देखि एम्बुलेन्स सञ्चालन नआएको पाईएकाले यथासक्य एम्बुलेन्स सेवा सञ्चालन गर्ने, लक्षितबर्ग उत्थान कार्यक्रम अन्तरगत शिपमुलक तालिमहरु सञ्चालन गर्दा सार्वजनिक सुचना गरी आवेदन दर्ता गर्ने, किशानहरुको समस्यालाई ध्यानमा राखि समयमा मलखाद उपलब्ध गराउने लगायत रहेका छन् । यसरी गरीएका प्रतिबद्धताहरुमा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने, कार्यपालिका सदस्य, वडा अध्यक्षहरु र शाखा प्रमुखहरुले हस्ताक्षर गरेका थिए ।
बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बास नेपालका केन्द्रीय महासचिब कल्पना अधिकारीले गरेका थिए । सुनुवाईको खुल्ला छलफल पूर्व बैजनाथ गाउँपालिकाको प्रगति र उपलब्धीको प्रश्तुतीकरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले गरेका थिए भने सुनुवाई पूर्व गरिएको बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका जन सम्पर्क अधिकृत माधब कुमार कार्कीले गरेका थिए । सुनुवाईमा २३५ बढीको सहभागिता रहेको थियो ।

