एजेन्सी / प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्, जहाँ उनी बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुनेछन्।
दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार किमले मंगलबार आफ्नो बख्तरबन्द रेलमार्फत चीन प्रवेश गरेका हुन्। सुरक्षा व्यवस्थाका कारण रेल ढिलो गतिमा यात्रा गर्ने भएकाले बीजिङ पुग्न करिब २४ घण्टा लाग्ने अनुमान छ।
किमको रेलयात्रा परम्परा उनका हजुरबा किम इल सुंगले सुरु गरेका थिए। उनका पिता किम जोङ इलले पनि विमान यात्राप्रति डर भएकाले बख्तरबन्द रेलमै प्रायः विदेश भ्रमण गर्ने गर्थे। दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार किमको हालको रेलमा करिब ९० वटा डब्बा छन्, जसमा बैठक कक्ष, शयनकक्ष र अतिथि सत्कार कक्षसम्म समावेश छन्।

