Breaking News

हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र, मन्त्री यादव स्वयम् पानी परिक्षण स्थलमा

वीरगंज (पर्सा), गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीब्र रुपमा अगाडि बढाइएको छ ।

हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परिक्षणका लागि मोबाइल भ्यान सहितको टोली परिचालन गरिएको र उक्त टोलीले अहिले तीब्र रुपमा पानी परिक्षणको कार्य अगाडि बढाएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा म सहित हाम्रो प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेका छौँ । प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धिकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ ।”

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजारोगको सङ्क्रमण देखिएको र केहीको मृत्यु समेत भएपछि अहिले मन्त्री यादव सहित खानेपानी मन्त्रालय र विभागको प्राविधिक लगायतको टिम हैजा प्रभावित क्षेत्रमा खटिएको छ ।

हैजा रोगको सङ्क्रमण भेटिएको क्षेत्रमा त्यहाँको खानेपानी परिक्षण र शुद्धिकरणका लागि आवश्यक सामग्री सहितको मोबाईल भ्यान टोली तत्कालै खटिएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै भ्यान सहितको मोवाइल टोली खटाएका छौँ । पानी परिक्षण र शद्धिकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाईदै छ ।”

वीरगञ्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको थियो । हैजा रोगकै लक्षण देखिएका तर हैजा पुष्टि नभएका दुई जनाको शनिबार मृत्यु भएको जनाइएको छ ।