३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् ।
कांग्रेसको पदाधिकारीको बैठक समेत बसिरहेको छ । काँग्रेसका सांसदहरु पनि सिंहदरबार आउन थालेका छन् ।
यस बारेमा कांग्रेस र एमालेका नेताहरूबीच हिजो सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो ।
महान्यायाधिवक्ता रमेश बडालसहित उनीहरूले छलफल गरेका थिए । उक्त छलफलमा सामाजिक सञ्जाल नियमन गर्नेबारे सर्वोच्च अदालतको फैसलाको मात्र होइन उपसभामुखको हटाउनेबारे पनि छलफल भएको थियो । त्यही छलफलपछि मंगलबार नै त्यो प्रक्रिया अघि बढाउन दलहरु लागेका हुन् ।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।

