विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा छलफल गर्नु आवश्यक नरहेको बताएकी छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।
‘म नेकपा एमालेकै कार्यकर्ता हुँ । म पनि आलोचनाभन्दा मुक्त छैन’ उनले भनिन्, ‘कोही पनि छैन । यस विषयमा धेरै छलफल गर्नु आवश्यक छैन ।’ उनले राजतन्त्र र गणतन्त्र फरक व्यवस्था भएको बताउँदै भनिन्, ‘राजा व्यक्ति हो । राष्ट्रपति एउटा पद हो । आवधिक हुन्छ । जो सुकै जनताको छोरा निर्वाचित भएर राष्ट्रपति बन्न सक्छन् । उनीहरू कार्यकाल सकिएपछि आफ्नो काममा फर्कन सक्छन् ।’
पूर्वराष्ट्रपति भण्डारीले पार्टीले कुनै भूमिका नदिएपनि आफू एमालेको संगठित सदस्य भएको बताइन् । उनले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपनि पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरिसकेको छ ।
पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको उनको दाबी छ । उनले भनिन्, ‘४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको, विराटनगरमै मैले शपथ खाएको हुँ, मोरङ जिल्लामै,’ उनले भनिन्, ‘राष्ट्रपतिमा निर्वाचित हुँदा पार्टी सदस्य लिएको ३५ वर्ष भएको थियो, र मलाई पार्टीले निर्णय गरेर तपाईं जानुपर्छ भनेर पठाएको हो ।’ उनले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफू पार्टीको राजनीतिमा फर्किएको दोहो¥याइन् ।
उनले भनिन्, ‘हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएको हुँ, पार्टीले निर्णय गरेर पठाएको हो र आज पनि म एमालेमै छु । पार्टीको औपचारिक कुरा के छ, मलाई थाहा भएन । म केन्द्रमा छैन ।’

