एजेन्सी/ ३१ साउन, काठमाडौं । युरोपेली संघ (ईयू)ले युक्रेनलाई समर्थन गर्ने प्रष्ट पारेको छ । अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनको शिखर वार्तामा युद्धविराममा सहमति नजुटेपछि ईयूका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै युक्रेनलाई समर्थन गर्ने प्रष्टाएका हुन् ।
साथै उनीहरूले ईयू र नेटो सैन्य गठबन्धनमा युक्रेन आवद्ध हुने कि नहुने भन्नेबारे रूसले भिटो प्रयोग गर्न नपाउने बताएका छन् ।
ईयू वा नेटो प्रवेशमा रूसले भिटो राख्न पाउने छैन । युक्रेनले आफ्नो भूभागबारेका निर्णय आफैं लिनुपर्छ । अन्तर्राष्ट्रिय सीमारेखा बल प्रयोग गरेर परिवर्तन गर्न पाइँदैन ।’
वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले युक्रेनमा हिंसा रोक्ने, रूसको आक्रमण समाप्त गर्ने र न्यायपूर्ण तथा दीर्घकालीन शान्ति कायम गर्ने प्रयासलाई नेताहरूले स्वागत गरेका छन् । राष्ट्रपति ट्रम्पले भनेजस्तै– सम्झौता नभएसम्म कुनै सम्झौता छैन ।’
युरोपेली नेताहरूले अर्को चरणको वार्तामा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई समेत सहभागी गराउनुपर्नेमा जोड दिएका छन् ।
पुटिनसँगको वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार जेलेन्स्कीलाई वाशिंटन बोलाएका छन् । ट्रम्प–जेलेन्स्की भेटपछि इयुको समर्थनसहित दोस्रो चरणको त्रिपक्षीय शिखर सम्मेलन गर्न आफूहरू तयार रहेको युरोपेली नेताहरूको भनाइ छ ।
युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डता सुरक्षित राख्नका लागि सुरक्षाको प्रत्याभूति आवश्यक रहेको विज्ञप्तिमा जोड दिइएको छ ।
‘अमेरिकाले यस्तो ग्यारेन्टी दिन तयार रहेको ट्रम्पको भनाइलाई हामी स्वागत गर्छौं’, इयु नेताहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेटोमा आवद्ध गठबन्धन मुलुकहरू सक्रिय भूमिकामा रहन तयार छ ।’
युरोपेली नेताहरूले युक्रेनलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । “हामी लडाइँ अन्त्य गर्न र न्यायपूर्ण शान्ति कायम गर्न युक्रेनलाई अझ बलियो बनाउन दृढ छौँ । युक्रेनमा हत्या हिंसा जारी रहेसम्म रूसमाथि दबाब कायम राख्छौँ । रूसको युद्ध अर्थतन्त्रलाई दबाबमा राख्न प्रतिबन्ध र आर्थिक नीतिहरू अझ कडा पारिनेछ’, विज्ञप्तिमा उल्लेख छ ।
साथै युरोपेली समर्थनमा युक्रेनले भरोसा गर्न सक्ने भन्दै इयुका नेताहरूले ढाडस दिएका छन् । ‘युक्रेनले हाम्रो दृढ ऐक्यबद्धतामा भरोसा गर्न सक्छ। हामी युक्रेन र युरोपको सुरक्षा हितार्थ शान्तिको मार्ग खोज्दै अघि बढ्नेछौँ ।’

