Breaking News

कर्णाली प्रदेश सरकारले राउटे समुदायका लागि ‘राउटे कोरिडोर’ निर्माण गर्ने

सुर्खेत । नेपालको एकमात्र फिरन्ते राउटे समुदायको जीवनशैली र संस्कृतिको संरक्षण गर्दै उनीहरूलाई विकासको मूलधारमा समाहित गर्न कर्णाली प्रदेश सरकारले महत्वाकांक्षी योजना अघि सारेको छ । सरकारले चालु आर्थिक वर्षदेखि राउटे समुदायका लागि ‘राउटे कोरिडोर’ निर्माण गर्ने भएको छ ।

जंगलमा फिरन्ते जीवन बिताउने, काठका कलात्मक सामग्री बनाएर गुजारा चलाउने र आफ्नै मौलिक भाषा, संस्कृति र परम्परामा रमाउने यो समुदाय हाल १३५ जनाको संख्यामा सीमित छ । राउटेको संख्या हरेक वर्ष घट्दै गएको छ । आधुनिकताको प्रभावबाट टाढा रहेका राउटेहरूको परम्परागत जीवनपद्धतिलाई सम्मान गर्दै उनीहरूको भविष्य सुरक्षित गर्न यो विशेष पहल अघि बढाइएको कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।
भण्डारीका अनुसार, राउटे समुदायको विगत १० वर्षको बसोबास स्थलको नक्साङ्कन, राउटे नीति, विभिन्न अध्ययन प्रतिवेदन र संवैधानिक आयोगहरूको सिफारिसका आधारमा यो कोरिडोर निर्धारण गरिने छ । ‘यसले उनीहरूको घुमन्ते जीवनलाई व्यवस्थित बनाउनुका साथै उनीहरूलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउन सहज हुने हाम्रो विश्वास हो,’ भण्डारीले भने ।

कोरिडोर निर्माणको महत्वाकांक्षी योजनासँगै सरकारले राउटे समुदायको जीवनस्तरमा प्रत्यक्ष र सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले अन्य कार्यक्रमहरु पनि अघि बढाएको छ । ती कार्यक्रम उनीहरूको स्वास्थ्य, शिक्षा र सशक्तीकरणमा केन्द्रित छन् ।

विशेषगरी स्वास्थ्य र पोषणलाई उच्च प्राथमिकतामा राखिएको छ । विकास साझेदारहरूसँगको सहकार्यमा बालबालिकादेखि वयस्कसम्मलाई पोषणयुक्त खाद्य सामग्री सुनिश्चित गरिने छ भने प्रदेशका सबै सरकारी अस्पतालमा उनीहरूका लागि निशुल्क उपचारको ढोका खुला गरिने छ ।

त्यसैगरी, भावी पुस्तालाई शिक्षाको उज्यालोसँग जोड्न पनि पहल गरिने मन्त्री भण्डारीले बताए । ‘राउटे बालबालिकालाई शिक्षाप्रति आकर्षित गर्न उनीहरूकै परिवेश सुहाउँदो र रुचिकर शैक्षिक सामग्रीहरू विकास गरी वितरण गर्ने योजना छ, ताकि उनीहरूले परम्परा नबिर्सी आधुनिक ज्ञान हासिल गर्न सकून्,’ भण्डारीले भने ।

यी सबै कार्यक्रमलाई प्रभावकारी बनाउन राउटे समन्वय समितिको अगुवाइमा समुदायको विस्तृत प्रोफाइल तयार गरी प्रकाशन गरिने छ । उक्त प्रोफाइलले भविष्यका योजना निर्माणमा मार्गदर्शन गर्नेछ । साथै, समुदायको आवश्यकता पहिचान गरी उनीहरूको परम्परागत सीपलाई सम्मान गर्दै आवश्यक क्षमता विकासका कार्यक्रमहरू समेत सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सरकारले गत आर्थिक वर्षमा पनि राउटे समुदायलाई लत्ताकपडा, त्रिपाल र खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीहरू उपलब्ध गराएको थियो । विभिन्न गैरसरकारी संस्थाहरूसँगको समन्वयमा भइरहेका कामहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने मन्त्री भण्डारीले बताए ।