२० साउन, हेटौंडा । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।
बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

