११ साउन, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोलामा दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए ।
अभियुक्तले प्रहरीलाई दिएको जानकारी अनुसार नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको र ठाडामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी स्रोतले बताएको छ ।
प्राप्त समाचार अनुसार शनिबार दिउँसो घरमा दानसिंहका बुवाआमा आएका थिए । राम्रैसँग गफगाफ गरेर खाना खाएर फर्किएका थिए ।
बेलुकाको खाना खाइसकेपछि श्रीमान दानसिंह र श्रीमती रविना ओछ्याएनमा पल्टिएर मोबाइल हेरिरहेका थिए । मोबाइल हेर्दाहेर्दै रविना निदाइन् । त्यसपछि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर हत्या गरेका थिए ।
अभियुक्त दानसिंह नेपाली सेनाबाट अवकाश प्राप्त हुन् । उनको एउटा छोरो दुबईमा र एउटी छोरी जापानमा छन् । अर्की एउटी छोरी सुर्खेतमै छिन् ।
उनले विगतमा मदिरा सेवन गर्ने गरे पनि एक हप्तायता मदिरा सेवन गर्न पनि छाडे थिए ।
तर श्रीमतीको हत्या किन गरे भन्ने खुलेको छैन । ‘श्रीमतीलाई किन मारेको भनेर सोध्दा उसले मलाई केही थाहा पाइनँ, सैतान भनेर हानेको हुँ भनेका छन् । यस बारेमा प्रहरीले अनुुसन्धान गरिरहेको छ ।

