Breaking News

बागमती प्रदेशमा मुख्यमन्त्री बिरुद्ध दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव

काठमाडौं । बागमती प्रदेशमा आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन कांग्रेसका २१ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । लामालाई हटाएर कांग्रेसका बहुमत सांसदले इन्द्र बानियाँलाई नयाँ मुख्यमन्त्री बनाउन चाहेका छन् । बानियाँ बागमतीका सभापति पनि हुन् । बानियाँले २१ जना सांसदको हस्ताक्षर गरेर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । बागमतीमा ३७ जना संसद् प्रदेश सरकारमा सहभागी छन् ।

बागमती प्रदेशको मुख्यमन्त्री लामालाई हटाउन हटाउन अविश्वासको प्रस्ताव ड्राफ्ट गरेर बागमती प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेका चार मन्त्रीले आजै राजीनामा दिएका थिए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार छन् ।

मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लामा विरुद्ध आइतबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् ।

मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको भन्दै कांग्रेसकै मन्त्रीहरू उनीसँग रुष्ट थिए । २०७९ पुस १३ गते भएको निर्वाचनमा बानियालाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए । बागमतीमा कांग्रेस र एमालेका गठबन्धन सरकार छ ।