Breaking News

माधव र वामदेव एकै ठाउँमा : गौतमको वरियता तेस्रो

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादी पार्टीबीच एकता भएको छ ।गएको शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको हो ।

लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफलमा गरिएको थियो । एकता घोषणा कार्यक्रममा एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्यहरुलाई माधव र वामदेव दुवैले स्वागत गरेका थिए।

कार्यक्रमलाई संबोधन गर्दै नेता गौतमले एकीकृत समाजवादीसँगको एकता घोषणा हुँदा शब्दमा बयान नै गर्न नसक्नेगरी खुशी भएको बताएका थिए। एकता प्रयास चार वर्षपछि सफल भएको भन्दै नेता गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर मुलुकलाई यूरोपका मुलुकको अवस्थामा पुर्याइने बताए ।

एकता पछि गौतम तेस्रो मर्यादाक्रममा परेका छन् । अध्यक्ष नेपाल र झलनाथ खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ।