Breaking News

हिजो एकै दिनमा साढे ३८ अर्ब ६१ करोड सरकारी खर्चको भुक्तानी

सरकारले हिजो एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी (३८ अर्ब ६१ करोड) सरकारी खर्चको भुक्तानी गरेको छ। चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो।

हिजोको भुक्तानीसँर्ग चालु आर्थिक वर्षका लागि भुक्तानी बन्द भएको छ। सिष्टम एआई बेस हुन्छ, राति १२ बजेदेखि अटोमेटिक लक हुन्छ। कानुनले विभिन्न परिस्थितिमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको बाहेक अब भुक्तानी रोकिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार थाती रहेका सबै प्रकारका भुक्तानी फरफारक गरिएको कारण एकै दिन ठूलो रकम निकासा भएको हो। गत वर्ष पनि भुक्तानी गर्न पाउने अन्तिम दिन साढे २१ अर्ब रूपैयाँ निकासा भएको थियो।

महालेखाको तथ्यांकअनुसार बुधबार १४ अर्ब ९३ करोड रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ। त्यस्तै २१ अर्ब ७३ करोड रूपैयाँ बराबरको पुँजीगत खर्चको भुक्तानी भएको छ।

सार्वजनिक ऋणको सावाँ भुक्तानी र संस्थानहरूमा गरिने लगानीका लागि विनियोजन गरिएको वित्तीय व्यवस्थापन खर्च बुधबार मात्रै एक अर्ब ९४ करोड भुक्तानी भएको छ।

चालु वर्षमा हालसम्म भएको खर्चमा बुधबार मात्रै गरिएको भुक्तानी साढे २ प्रतिशतभन्दा धेरै छ।

चालु वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो। १५ खर्ब ५ अर्ब रुपैयाँको खर्च भएको छ।

पुँजीगत खर्चको भुक्तानी भने एकै दिनमा ११.२८ प्रतिशत बढी भएको छ।