सरकारमा सहभागी एक दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज सो दलबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका अरूणकुमार चौधरीले राजीनामा बुझाउँदैछन्।
अस्ति शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हट्ने निर्णय गरेको थियो। नाउपाले सरकारलाई दिएको समर्थन फिर्तासँगै प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको छ।
संविधानको धारा १०० को उपधारा २ मा, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ,’ भन्ने उल्लेख छ।

